आज हेटौंडाको नगरसभा, एमालेको ‘हठ’ले नीति, कार्यक्रम र बजेट अन्यौल

साझाकुरा
२०७९ असार १२, आईतवार १०:२१

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा आज आइतबार पुनः बस्दैछ । शुक्रबारका लागि बोलाइएको नगरसभामा नगरसभा सदस्यको गुणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।नेकपा एमालेका नगरसभा सदस्यहरुले नगरसभा बहिष्कार गरेका थिए । ९५ सदस्यीय नगरसभामा नगरप्रमुख र उपप्रमुखसहित ४० जना सदस्यले मात्रै उपस्थिति जनाएका थिए । तर, उक्त संख्या नगरसभा सञ्चालनका लागि अपुग भएको थियो । संविधानतः नगरसभा सञ्चालन गर्न ५१ प्रतिशतको उपस्थिति हुनुपर्छ । नगर प्रमुख मिनाकुमारी लामाले नगरसभा स्थगित गर्दै आज आइतबारका लागि बोलाएकी थिइन् । उनले एमालेसँग सहमतिका लागि छलफल गरेपनि मेयरको अधिकार कटौतीमा मात्रै केन्द्रित भएको आरोप लगाइन् । ‘नीति, कार्यक्रम र बजेटसँग सम्बन्धित कुनै विषय छैन । मेयरको अधिकार कटौती गर्नुपर्ने उहाँहरुको एकमात्र मुद्दा छ । त्यसमा सहमत हुन सकिँदैन्’, लामाले भनिन् ।

दोस्रो चरणको नगरसभा सञ्चालनका लागि पनि ५१ प्रतिशत सदस्य उपस्थिति हुनुपर्ने कानुनी व्यवस्था छ । आज आइतबार ५१ प्रतिशत सदस्य अनुपस्थित भए लामाले पुनः नगरसभा स्थगित गरेर तेस्रो चरणको नगरसभा आह्वान गर्ने रणनीति लिने जनाइएको छ । लामाले एमालेका सदस्यहरु अनुपस्थित भएपनि नगरसभा सञ्चालन हुने दाबी गरिन् । उनले एमालेसँग छलफल गरेपनि सहमति हुन नसकेको बताएकी छन् । उनले कानुनी प्रावधानअनुसार हेटौंडा उपमहानगरपालिकाको नीति, कार्यक्रम र बजेट पारित हुने बताइन्।
तेस्रो चरणको नगरसभामा भने २५ प्रतिशत सदस्यको उपस्थितिमै नगरसभा सञ्चालन गर्न सक्ने व्यवस्था छ । एमाले सहमतिमा नआए उक्त व्यवस्थालाई टेकेर आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि हेटौंडाले नीति तथा कार्यक्रम र करिब २ अर्ब ७० करोडको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

आज हुने नगरसभामा एमाले उपस्थित नभए लामाले तेस्रो चरणको नगरसभा आह्वान गर्नेछिन् । नगरसभा बस्न नसकेपछि एमालेका सदस्यमाथि नगरबासीहरुले आलोचना गरेका छन् । नीति, कार्यक्रम र बजेट नै रोकेर एमालेले राम्रो काम नगरेको नगरबासीको भनाइ छ ।उपमहानगरका प्रवक्ता सविन न्यौपानेले एमालेको ‘हठ’का कारण नगरसभा बस्न नसकेको बताए । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट हेटौंडाको नगर प्रमुखमा गठबन्धनबाट नेकपा एसकी लामा र उपप्रमुखमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका थिए । एमालेले पराजयको आवेगबाट नगरसभा स्थगित गरेर नगरबासीमाथि अन्याय गरेको न्यौपानेको भनाइ छ । उनले सहमतिअनुसार आगामी पाँच वर्षको कार्यकाल चलाउन उपमहानगर नेतृत्व तयार रहेको बताए । वार्ताका लागि संधै ढोका खुला रहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

७ असारमा बसेको कार्यपालिका बैठकमा एमालेले नगर प्रमुखको अधिकार कटौती गर्ने उद्देश्यअनुरुप बैठक सञ्चालन कार्यविधि संशोधन प्रस्ताव लगेको थियो । उक्त प्रस्तावले नगर प्रमुखको अधिकार नै कटौती हुने भएकोले कुनै हालतमा दर्ता गर्न नसकिने उपमहानगर नेतृत्वले बताउँदै आएको छ ।एमालेका सदस्यहरुले भने प्रस्ताव दर्ता हुनुपर्ने बताउँदै आएका छन् । एमालेले नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिमार्फत् आउनुपर्ने बताएको छ । हेटौंडा उपमहानगरपालिकाको ५ वटा विषयगत समितिहरु गठन हुन नसकेको र विधिअनुसार नीति, कार्यक्रम र बजेट मस्यौदा नआएकोले नगरसभामा उपस्थित नभएको एमाले पालिका दलका नेता नवीन सिग्देलले बताए ।

उनले आज आइतबार हुने नगरसभाका लागि उपमहानगर नेतृत्वबाट कुनै छलफल नै नगरेको बताए । ‘हामीसँग कुनै छलफल गरिएको छैन् । नेतृत्वबाटै सहमतिका लागि प्रयास नभएको देखिन्छ’, सिग्देलले भने । आज हुने नगरसभामा एमालेको उपस्थिति नहुनेतर्फ सिग्देलले संकेत गरेका छन् । ‘हाम्रो मागमा सहमति भए उपस्थिति हुन्छौं’, उनले भने । सिग्देल पाँच बुँदे मागमा नेतृत्व सहमत हुनुपर्ने बताउँछन् । एमालेसँग छलफल नै नगरी बजेट निर्माणमा एकलौटी गरेको उनको  आरोप छ ।हेटौंडामा गठबन्धन र एमालेबीच जुंगाको लडाई चलिरहँदा शुक्रबार मकवानपुरका १० स्थानीय तहमध्ये ५ वटा पालिकाले बजेट ल्याएका थिए । ४ वटा गाउँपालिकाले नीति तथा कार्यक्रममात्रै ल्याएका छन् । उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकासहित चार गाउँपालिकाले आगामी आव २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

थाहा, मकवानपुरगढी, राक्सिराङ, भीमफेदी र बागमती गाउँपालिकाले नीति, कार्यक्रमसँगै बजेट ल्याए । इन्द्रसरोबर, कैलाश, मनहरी र बकैया गाउँपालिकाले २५ असारभित्र बजेट ल्याउने गरी शुक्रबार नीति, कार्यक्रम ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*