राक्सिराङ र गढीको दुई हजार ९ सय घर विपतको जोखिममा
हेटौंडा- प्रि–मनसुन सुरु भएसँगै विपतजन्य घटनाको जोखिम पनि बढेको छ । जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकूल मौसमको कारण प्राकृतिक प्रकोपहरुको जोखिम बढ्ने गरेको छ । मकवानपुर पनि विभिन्न प्रकारको विपदजन्य घटनाको जोखिममा रहेको जिल्ला हो । यहाँ वर्षेनि विपद्का घटनामा जनधनको क्षति हुने गरेको छ ।मकवानपुरको विकट राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको मात्रै दुई हजार आठसय घर विपतको जोखिममा रहेका छन् । राक्सिराङमा एक हजार एक सय घर विपतको जोखिममा रहेको छ भने गढीमा एक हजार ८ सय घर जोखिममा रहेको छ ।
राक्सिराङ गाउँपालिकाको ९ वटा वडामा दुई सय घर पहिरोको जोखिम रहेको छ भने बाढीमा ९ सय घर जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले बताए । राक्सिराङ बाढि र पहिरोसँगै चट्याङको पनि अति जोखिममा रहेको गाउँपालिका हो । त्यसैले राक्सिराङ गाउँपालिकाले चट्याङबाट बच्न अर्थिङ राख्न पनि आगामी आर्थिक वर्षको बजेटमा अनुदानको व्यवस्था गर्न लागेको जनाइएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत् चट्याङको जोखिममा रहेका गाउँपालिकाबासीलाई पाँच हजार रुपैयाँको दरले अर्थिङ राख्न अनुदानको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । पालिकाले विपतको जोखिममा रहेकाहरुलाई स्थानान्तरण गर्नको लागि विपत व्यवस्थापन समिति बनाइसकेको अध्यक्ष मल्लले जानकारी दिए । उनले आफूहरु विपत व्यवस्थापनको योजनामा लागिरहेको बताए । आगामि आर्थिक वर्ष २०७९÷०८० मा विपत व्यवस्थापनको लागि असार २५ गते बजेट ल्याउने योजनामा रहेको उपाध्यक्ष थिङले जानकारी दिए ।
मकवानपुरगढी गाउँपालिकाको पनि १८ सय घर विपतको जोखिममा रहेको छ । पालिकाको ८ वटा वडाहरुमा पाँच सय घर पहिरोको जोखिममा रहेको छ भने ६ सयदेखि ८ सय सम्म बाढीको जोखिममा रहेको छ ।चट्याङमा ३ सय घर जोखिममा रहेको पालिका अध्यक्ष दोर्जे लामाले बताए । उनका अनुसार गढीमा बाढी र पहिरोको अत्यन्तै जोखिम रहेको छ । सामरी खोलामा आएको बाढीको कारणले कयौँको ज्यानसमेत गएको लामाले बताए ।
पालिकाले विपत जोखिम र स्थानान्तरण गर्नको लागि विपत व्यवस्थापन समिति बनाइसकेको लामाले जानकारी दिए । आगामि आर्थिक बर्ष २०७९÷०८० को विपत व्यवस्थापनको लागि करिब १५ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको उनले बताए ।







