वैदेशिक रोजगारको क्रममा अशुल गर्न बाँकी रकम परिवारलाई उपलब्ध
हेटौंडा- वैदेशिक रोजगारको क्रममा भएको ठगी, मृत्यु तथा विदेशी रोजगारदाता कम्पनी वा व्यक्तिसँग असुल गर्न बाँकी रहेको रकम सम्बन्धित परिवारलाई उपलब्ध गराइएको छ ।हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरमा सञ्चालित सुरक्षित आप्रवासन स्रोत केन्द्रले असुल गर्न बाँकी रहेको २ करोड ५२ लाख ५७ हजार रुपियाँ सम्बन्धित परिवारलाई उपलब्ध गराएको हो । सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रम संयोजक अन्जिता थापा मगरले लामो समयको पहलपछि उक्त रकम पीडितलाई दिलाउन सफल भएको बताइन् ।
उनले पीडितहरुलाई न्यायमा पहुँच बृद्धिको लागि सहयोग गर्ने क्रममा १८ वटा ठगीको, १५ वटा उद्दार तथा २४ वटा मृत्युको घटनामा उक्त रकम दिलाउन सफल भएको बताइन् । केन्द्रमा ठगीको ५० वटा, उद्दारको २५ वटा तथा मृत्युको २८ वटा केस दर्ता भएकोमा अन्य केसहरुको काम प्रक्रियामा रहेको बताइएको छ । केन्द्र मार्फत गतवर्ष ६४ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको थियो भने यो वर्ष ८५ जनालाई यो सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुर, सुरक्षित आप्रवासन परियोजना अन्तर्गत मनोसामाजिक परामर्शकर्ता पार्वती बिकले बताइन् । विदेश जान चाहनेहरुलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाहरुको परिवारलाई वित्तीय शिक्षा तथा मनोसामाजिक परामर्श, र वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट सूचना तथा अनुभव आदन प्रदानको लागि यो परियोजनाले समुदायस्तरका काम गर्ने गरेको छ । एकीकृत ग्रामीण विकास सेवा संस्थाको साझेदारीमा यो परियोजना स्थानीय तहमार्फत नै सञ्चालन हुदैं आएको छ ।
परियोजनाको वार्षिक समीक्षाको लागि आयोजना गरिएको कार्यक्रममा हेल्भिटास नेपाल कार्यक्रम अधिकृत उमा पौडेलले केही स्थानीय तहहरुले वैदेशिक रोजगारको सवाललाई महत्व दिएको भए पनि धेरै जसो स्थानीय तहहरुले वैदेशिक रोजगारको सवाल आफ्नो सवालको रुपमा नलिएको गुनासो गरिन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले परिवारलाई समृद्ध, सुमधुर र वित्तीय रुपमा सफल बनाउन यो परियोजनाको महत्वपूर्ण योगदान रहेको बताइन् । विगतका जनप्रतिनिधिहरुले भौतिक विकास निर्माणमा चासो राखेको भएपनि अबका जनप्रतिनिधिहरुले सामाजिक विकासमा ध्यान दिने अपेक्षा आफूले राखेको लामिछानेले बताइन् ।







