हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी मेला सुरु
हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपजप्रदर्शनी मेला सोमबारबाट सुरु भएको छ ।बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिको समन्वयमा हेटौंडामा दुई दिने प्रदर्शनी मेला सुरु भएको हो । मेलाको बागमती प्रदेशका मुख्यमन्त्रीराजेन्द्रप्रसाद पाण्डेले उद्घाटनगरेका छन् ।मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनुपर्नेबताए । उनले स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनले महिलाको उपस्थिति घटेको भन्दै आर्थिक उपस्थितिलाई भने बलियो बनाउन सकिने बताए ।
कृषि उद्योगको विकास गर्न महिलालाई प्राथमिकता प्रोत्साहन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले महिलालाई कृषिमा दूध, जडिबुटी, औषधिको उत्पादन बढाउन लागि पर्न आग्रह गरे । मेलामा बागमती प्रदेशको १३ वटै जिल्लाका महिलाहरुले आफैं उत्पादन गरेको सामानलाई ५१ वटा स्टलमा राखिएको छ ।महिलाहरुले उत्पादन गरेको अचार, क्रिष्टल माला, हातले बुनेको लुगा, काठ तथा बाँसका सामग्रीसँगै अन्य सामग्रीहरुलाई मेलामा प्रदर्शन गर्न राखिएको छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यामी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहेको आयोजकले जनाएको छ ।
महिलाहरुले उत्पादन गरेको सामग्रीलाई बजारीकरणगर्न मेलाको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव गीता मैनालीले जानकारी दिइन् । उनले उपज प्रदर्शनीको लागि महिलाहरुलाई निःशुल्क स्टल उपलब्ध गराइएको बताइन् । प्रदर्शनी आम्दानीभन्दा महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उनको भनाइ छ । प्रदर्शनी मेला आज मंगलबारसम्म चल्नेछ ।







