बाढी पस्ने त्रासले रातभर निदाउँदैनन् फाँटबजारबासी
हेटौंडा- यसवर्षका मनसुन सुरु भइसक्यो । खोला तथा नदीहरुमा पानीको बहाब बढ्दा हालसम्म देशका विभिन्न स्थानमा जनधनको क्षति भइसकेको छ । राज्यले विपद् जोखिम नियन्त्रणमा ध्यान नदिँदा कयौं नागरिकले अकालमै ज्यान गुमाइरहनु परेको छ । राज्य संयन्त्रले विपद् नियन्त्रणमा दिगोपानलाई ध्यान नदिएको पाइएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा पनि निर्माण कम्पनीले ढिलाई गर्दा नगरबासी दिनरात चिन्तामा रहेका छन् । फेदीगाउँ–शंखमुल नदी तटबन्धन योजना अलपत्र हुँदा २ हजार ५ सय रोपनी खेतियोग्य जग्गा र २ सय ५० घरधुरी बाढीको जोखिममा छन् । थाहा नगरपालिका–२ फाँटबजारबासी दिनभर ठेकेदारको आशमा रातभर जाग्राम बस्ने गरेका छन् । नदी नियन्त्रण समयमै हुन नसक्दा फाँटबजारबासी जनप्रतिनिधिदेखि नेताको दैलो चहार्न बाध्य भएका हुन् ।
वर्षासँगै भुसकाट खोलामा आउने बाढीले फाँटबजारका करिब ६० घरधुरी प्रत्यक्ष प्रभावित छन् । उनीहरुलाई वर्षाले खोलामा पानीको बहाव बढेसँगै फाँटबजारमा बाढी पस्ने त्रास छ । ‘हामीलाई रातभर निन्द्रा लाग्दैन् । पानी प¥यो भने त सामान पोको पार्नुपर्छ ।,’ फाँटबजारकी सविना गिरीले दुखेसो गरिन् । उनलाई निरन्तर पानी परेपछि भुसकाट खोलामा आउने बाढी आफ्नो घरमा पस्ने डर छ । ‘हरेक वर्षको वर्खामा खेला फाँटबजार पस्ने गरेको थियो । हामीले नदी नियन्त्रण गर्न बारम्बार भनिरहँदा कसैले चासो दिएनन् ।,’ गिरीले सुनाइन् । यसवर्षको मनसुन सुरु भएपछि २ पटक सानो छोरी बोकेर राती घर छोड्नु परेको गिरीको भनाई छ । गतवर्ष खोलामा बाढी आउँदा ८३ वर्षीय वृद्धालाई बोकेर भागेको उनले सुनाइन् ।
पानी परेपछि सुतिरहेका बच्चा र वृद्धवृद्धालाई उठाएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । फाँटबजारमा २०५० सालमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अर्जुन कार्की बताउँछन् । उनले पालुङदेखि फेदीगाउँसम्मका साढे २ घर परिवार बाढी प्रभावित रहेको बताए । ‘बाढीले खोलाको छेउमा राखिएको ग्राभेल बगाएर लगेपछि सिधै फाँटबजार पस्ने हो । हामीलाई पानी परेपछि कहाँ जाउँ, के गरौं हुन्छ ।,’ कार्कीले सुनाए ।फाँटबजारबासीले बस्ती बचाउ सरोकार समिति बनाएर जनप्रतिनिधिदेखि नेताहरुको नदी नियन्त्रणको लागि हारगुहार गर्दै आएका छन् । तर, दिनरात त्रासमा बस्दै आएपनि समस्या बुझ्दिने कोही नभएको केशव कार्कीले सुनाए । प्रभावित क्षेत्रका बासिन्दा थाहाका नगर प्रमुख विष्णुबहादुर विष्टलाई भेटेर तत्काल समस्या समाधानको लागि पहल गरेका छन् ।
विष्टले तटबन्धन निर्माण गर्ने जिम्मेवारी लिएर फरार रहेको निर्माण व्यवसायीलाई सम्पर्क गरेर तत्काल काम सुरु गर्न निर्देशन दिए । तर, मेयरकै निर्देशनलाई निर्माण व्यवसायीले अटेर गर्दै आएको पीडित कार्कीले बताए ।नदी तटबन्धन निर्माणको जिम्मा हेटौंडाको माइरा कन्ट्रक्शनले पाएको थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहराले जानकारी दिए । माइरा कन्ट्रक्शनले नदी तटबन्धनको सम्झौता गरेरपनि काम नगरेको स्थानीयले गुनासो गरेका छन् ।थाहा नगरपालिकाले २०७३ सालमा नदी नियन्त्रणको डीपीआर निर्माण गरेको थियो । नगरपालिकाले जर्ती खोलामा मात्रै तटबन्धनको निर्माण गरेको स्थानीय रमेश बस्नेतले बताए । जर्ती खोला निवर्तमान मेयर लवशेर विष्टको घर भएको क्षेत्र हो । फाँटबजार पछाडि खोलामा बनाइएको अस्थायी चेक ड्याम यस अघिको भेलले खोलिसकेको स्थानीय बस्नेतले बताए । ‘भेलले नै ड्याम खोलिसक्यो । अब बाढी पाए घर
भएको ठाउँमा खेला पस्छ । हामी न थातथतो छोड्ने स्थितिमा पुग्यौं, न बस्न नै सक्छौं ।,’ बस्नेतले गुनासो गरे । उनका अनुसार २०५० सालमा आएको बाढीले करिब ५१ जनाको मृत्यु भएको थियो । हालसम्म फाँटबजारबाट २० देखि ३० घर विस्थापित भइसकेको बस्नेतले जानकारी दिए ।थाहा नगरपालिकामा विगतका वर्षमा बाढीले खेतियोग्य जग्गाको कटान गर्नुका साथै किसानको लाखौंको तरकारी बाढीसँगै बगेको थियो ।तरकारी उत्पादनका लागि थाहा नगरपालिका प्रख्यात क्षेत्र हो । यहाँ उत्पादित तरकारीले काठमाडौंमा आधाभन्दा बढी तरकारीको माग परिपूर्ति गर्छ ।थाहाको पनि फाँटबजार आलु, काउली, बन्दालगायतका तरकारी उत्पादनको पकेट क्षेत्र हो । यही खेतियोग्य जग्गा बाढीको उच्च जोखिममा छन् । २०७६ सालमा लाखौंको आलु, मकै, बन्दा, मुला बाढीले बगाएको पीडित बस्नेतले बताए ।







