‘प्रतिष्ठान र हेटौंडा अस्पताल सँगसँगै अघि बढ्छु’
हेटौंडा- मकवानपुरमा स्थापना भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै छुट्टै अस्पताल निर्माण नभएसम्म हेटौंडा अस्पताल प्रतिष्ठान मातहत नै रहने बताइएको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको दोस्रो वार्षिक उत्सव कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक अभ्यास गर्ने अस्पताल हेटौंडा अस्पताल नै रहेको बताए । उनले प्रतिष्ठानको छुट्टै अस्पताल निर्माण हुने जानकारी गराउदै उक्त अस्पताल निर्माण सम्पन्न नभएसम्म हेटौंडा अस्पताल प्रतिष्ठान मातहत नै रहने ठोकुवा गरे ।
बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै हेटौंडा अस्पताल र प्रतिष्ठानलाई अलग अलग बनाउने चर्चा चलिरहदा सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका नेता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा अस्पताल प्रतिष्ठानको अभ्यासस्थलको रुपमा रहने बताए । उनले प्रतिष्ठानको छुट्टै अस्पताल नबनेसम्म हेटौंडा अस्पताल र प्रतिष्ठान सँगसँगै अघि बढ्ने बताए ।बागमती प्रदेशको स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशमा एक विद्यालय एक नर्स कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए । उनले कोरोना महामारीमा विद्यालय नर्स र स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गरे । मन्त्री लामाले मन्त्रालयले प्रदेशको गौरवको रुपमा रहेको हेटौंडा अस्पताल र प्रतिष्ठानलाई विशेष प्राथमिकताको साथ बजेट विनियोजन गर्नुको साथै स्तरोन्नतिको पहल गरिरहेको बताए ।
प्रतिष्ठानका उपकुलपती प्रा.डा विश्वराज जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले प्रतिष्ठान स्थापनादेखी हालसम्म भए गरेका प्रगति विवरणको संक्षिप्त प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रतष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सतिश कुमार देव, प्रतिष्ठानका संयोजक चिरञ्जिवी चुडाँललगायतले मन्तव्य व्यक्त गरेका थिए ।







