कांग्रेस संसदीय दल र बानियाँद्वारा मिर्गौला रोगीलाई एक लाख सहयोग
हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मिर्गौला रोगी कांग्रेस नेता रामकृष्ण प्रजालाई एक लाख रूपैयाँ सहयोग गरेका छन् ।दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि संसदीय दल र दलका नेता इन्द्रबहादुर बानियाँले आर्थिक सहयोग गरेका हुन् । उपचारको लागि सहयोगस्वरुप दलबाट ५० हजार र नेता बानियाँले गरेको ५० हजार गरी एक लाख रूपैयाँ सहयोग प्रजाको घरमा पुगेर हस्तान्तरण गरेका छन् ।
कांग्रेस बागमती प्रदेश सभापति एवं दलका नेता बानियाँले रकम हस्तान्तरण गरेका हुन् । नेता बानियाँले प्रजाको स्वास्थ्य अवस्था र थप उपचारबारे जानकारी लिंदै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, प्रदेशसभा सदस्य पुकार महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेललगायतको उपस्थिति रहेको थियो ।







