ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, २१ जना घाइते
हेटौंडा- ट्राफिक नियम विपरित जन्ती बोक्दा मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा एक ट्याक्टर दुर्घटनामा परेको छ । बागमती गाउँपालिका–७ अन्तर्गत् धरान–चतरा–हेटौंडा सडक खण्डमा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनमा परेर ६ जना गम्भिर र २१ जना घाइते भएका छन् । बागमती–७, पाथीभारा घर भएका करिब १६ वर्षीया सलिना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कानुनअनुसार ट्याक्टरले यात्रु बोक्न पाउँदैन् ।
बागमती गाउँपालिका–९ बेतिनीबाट ट्याक्टर सिन्धुलीतर्फ जन्ती बोकेर जाँदै गर्दा दुर्घटनामा परेको हो । तर, उक्त ट्याक्टरले नियम विपरित अधिक संख्यामा जन्ती बोकेर हिँडेको थियो ।मृतक राईलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







