विद्युत वितरणको समस्यालाई समाधान गर्न कांग्रेसको आग्रह
हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको विभिन्न क्षेत्रमा विद्युत वितरण प्रणालीमा देखिएको समस्यालाई तत्काल समाधान गर्न आग्रह गरेको छ । कांग्रेसका जिल्ला सचिव भीमसेन महतको नेतृत्वमा गएको समूहले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दिपेन्द्रराज द्धिवेदी र हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र श्रेष्ठलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्याका विषयमा ध्यानाकर्षण गराउँदै तत्काल समाधान गर्न आग्रह गरेको हो । सचिव महतले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील विषयमा एक मिनेट पनि ढिलाई गर्न नहुने बताए ।
कांग्रेसले मकवानपुरवासीको विद्युतसँग सम्बन्धित समस्याको पहिचान गर्ने क्रममा जनताको जनजीवन प्रभावित बन्नुको साथै जोखिम समेत बढेको पाएको भन्दै उनले १५ दिनभित्र समस्या समाधान गर्न प्राधिकरणलाई आग्रह गरे । सचिव महतसँगै कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तान र गढी ७ नम्बर वडा अध्यक्ष सुर्यबहादुर स्याङ्तान, पूर्व जिल्ला अध्यक्ष हरि वाग्लेलगायतले मकवानपुरका विभिन्न क्षेत्रमा विद्युत प्रवाहमा भइरहेको समस्याबारे प्राधिकरणका जिम्मेवार अधिकारीहरुलाई जानकारी गराएका हुन् ।
सोही क्रममा प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख द्धिवेदीले तत्कालै समस्या भएको ठाउँको पहिचान गरी समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । हेटौंडा वितरण केन्द्रका प्रमुख श्रेष्ठले १५ दिनभित्र जनताले गुनासो गर्ने अवस्था नआउने गरी समस्या सुल्झाइने बताए । जिल्लाको सबैजसो क्षेत्रमा दैनिक १९÷२० पटकसम्म विजुली आउने जाने गरेको छ । जसका कारण आमजनताको दैनिकी प्रभावित बन्नुको साथै साना तथा घरेलु व्यवसायीहरुसमेत मर्कामा पर्दै आएका छन् । ग्रामिण भेगका अधिकाँश क्षेत्रमा काठको पोल रहेको छ । ती पोलहरु वर्षायाममा कुहिएर भाँचिदा विजुली वितरणमा समस्या हुनुको साथै मानवीय जोखिमसमेत बढेको छ ।







