मनहरीले उत्पादनको आधारमा अनुदान दिने

साझाकुरा
२०७९ असार २२, बुधबार १०:५०

हेटौंडा- मनहरी गाउँपालिकाले उत्पादनको आधारमामात्रै आर्थिक र प्रविधि सहायताअर्थात् अनुदान दिने नीति अबलम्बन गर्ने भएको छ । यसअघि आफूखुशी अनुदान दिइँदै आएकोमा मनहरीले कृषि क्षेत्रको विकाससँगै उत्पादनमा बृद्धि ल्याउन उत्पादनको आधारमा अनुदान दिने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
गाउँका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कालाखेतीले कृषिलाई आवश्यकताअनुरुप आधुनिकीरण गर्दै आवश्यकताअनुरुप कृषि अनुदान दिइने बताए । पालिकाले एककरोड सातलाखको आठसय ३२ वटा कृषि उपकरणहरु विभिन्न सहकारी, कृषक समूह तथा कृषकहरुलाई वितरण गरेको थियो । अध्यक्ष कालाखेतीले आगामी पाँच वर्षमा मनहरीबासीलाई कृषिमा आकर्षित गराउन अत्याधुनिक उपकरण र विशेष अनुदानका कार्यक्रम ल्याउने बताए ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगरले कृषि उत्पादकत्वमा जोड दिन समग्र कृषकहरुलाई आग्रह गरिन् । ‘यहाँको माटो कृषिका लागि सुहाउँदो छ । त्यसैले उत्पादकत्वमा जोड दिँदै आत्मनिर्भरमात्र नभई अन्यत्र निर्यात गरी व्यावसायिकरुपमा कृषि गर्न सकिन्छ’, मगरले भनिन् ।गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले आगामी दिनमा अनुदानमा वितरित सामग्रीहरुको अनुगमनमा कडाई गरिने प्रष्ट पारे । उनले यसअघि गाउँपालिकाले प्रोत्साहनस्वरुप  दिएको अनुदानहरुको दुरुपयोग बढेको बताए । अनुदान दुरुपयोग गर्ने किसानहरुलाई कारबाहीसँगै अन्य अनुदानका कार्यक्रममा सहभागी नगराइने श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*