मनहरीमा स्थानीय पाठ्यक्रमलाई छिट्टै प्रकाशन गरिने
हेटौंडा- मनहरी गाउँपालिकामा छिट्टै स्थानीय पाठ्यक्रम प्रकाशन गरिने भएको छ । २०७७ चैतमै स्थानीय पाठ्यक्रम प्रकाशनको तयारी थालिएपनि मनहरीमा हालसम्म त्युले मूर्तरुप पाउन सकेको छैन् । मनहरी गाउँपालिकामा नयाँ निर्वाचित जनप्रतिनिधि आएपछि नवगठित गाउँ शिक्षा समितिको पहिलो बैठकले स्थानीय पाठ्यक्रम प्रकाशन गर्ने कार्यलाई तदारुकता देखाएको हो । गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा बसेको बैठकले विद्यालयको शैक्षिक अबस्था सुधारसँगै स्थानीय पाठ्यक्रम छिट्टै प्रकाशित गरिने निर्णय गरेको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले बताए । स्थानीय पाठ्यक्रम निर्माणका लागि यसअघि गरिएका सबैखाले प्रयास र प्राप्त अन्तर बस्तुहरुलाई छिट्टै कितावको रुपमा प्रकाशन गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको शिक्षा प्रमुख सापकोटाले बताएका हुन् ।
यसअघि गाउँपालिकाले स्थानीय पाठ्यक्रमको पुस्तकको नाम ‘हाम्रो मनहरी, राम्रो मनहरी’ तय गरेको थियो । तत्कालीन शिक्षा समितिको बैठकले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम पठनपाठन हुने निर्णय गरेको थियो । पाठ्यक्रममा मनहरीको इतिहासदेखि वर्तमान समयसम्मको परिचय रहने त्यतिबेलै तय भएको थियो । यसमा मनहरीभित्रका पराम्परा, रहनसहन, जडीबुटी, भेषभुषा र कला तथा संस्कृति, धर्म, मन्दिरजस्ता संरक्षण तथा विकासमा ज्ञान उल्लेख गरिने जनाइएको थियो ।
यसैगरी, बुधवार बसेको बैठकले मनहरीमा रहेका सामुदायिक र निजी विद्यालयहरुले कक्षा बृद्धिका लागि माग गरेकामा ती विद्यालयहरुको भौतिक अनुगमन गर्ने र त्यसपछि मात्रै कक्षा वृद्धि गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।







