अस्पतालको सुधारमा हेटौंडाका जनप्रतिनिधिको नजर
हेटौंडा- हेटौंडा अस्पतालको स्वास्थ्य उपचार र व्यवस्थापनमा कमजोरी भइरहेको भन्दै जनस्तरबाट आवाज उठेपछि हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधिहरुले समस्या समाधानको लागि चासो लिएका छन् ।अस्पतालमा रहेको बेथितिको बिषयमा जनस्तरबाटै हुँदै आएको दवाबलाई हेटौंडा उपमहानगरपालिकाले चासो लिएको हो । बुधबार हेटौंडा उपमहानगरकी नगर प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले अस्पताल व्यवस्थापन समितिसँग वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।
बिरामीले टिकट, औषधी, उपचार पद्धतीको बिषय लिएर जनस्तरबाट आएको आवाजलाई चासो लिदै छलफल गरिएको थियो । उपमहानगरमा भएको छलफलमा हेटौंडा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईले आर्थिक अवस्थाको कारण समस्या भएको बताएका थिए । उनले केन्द्र सरकारबाट आउँनु पर्ने स्वास्थ्य बिमा वापतको ६ करोड र कोरोनाको समयमा फिल्डमा खटिएका कर्मचारीको ३ करोड रुपियाँ नआउँदा ठुलै समस्या भएको बताए । ‘अस्पतालले बर्षमा १४ करोड बराबरको कारोवार गर्छ, अहिले ९ करोड रुपियाँ संघीय सरकारबाट रोकिँदा समस्या भएको हो । पैसा आए सेवा र जनगुनासोलाई व्यवस्थापन गर्न सकिने थियो’, प्रसाईले भने । अहिले अस्पतालमा स्वास्थ्य बिमामार्फत्को औषधी बितरणमा समस्या भएको बिषय ठेकेदारलाई पैसा दिन नसक्नाले रहेको उनले बताए । औषधीको ठेक्का पारेको एक्सिस् फर्मालाई ८० लाख रुपियाँ दिन नसक्दा औषधी आउन समस्या भएको उनले बताए । अस्पतालले दिने सेवामा समस्या नभएको उनले दावी गरेका छन् ।
अध्यक्ष प्रसाईले सेवामा कुनै समस्या नभएको र दैनिक बिरामीको चाप बढ्दो रहेपनि जनशक्तिमा समस्या रहेको बताए । सबै काम भएपनि जनताको अहिले देखिएको समस्यालाई समाधान गर्न उपमहानगपालिका तयार रहेको नगर प्रमुख मिनाकुमारी लामाले विश्वास व्यक्त गरेकी छन् । वर्तमान समस्यालाई कम गर्दै व्यवस्थापनको पाटोमा ध्यान दिन अस्पताल व्यवस्थापनलाई उनले निर्देशन दिएकी छन् । ‘जनगुनासो धेरै भयो अब त्यो रोक्ने पाटोमा लाग्ने काममा उपमहानगरको सहयोग रहन्छ’, लामाले प्रतिबद्धता जनाइन् ।
उनले दैनिक आउँने बिरामी उपचारबिनै फर्कन पर्ने अवस्थालाई चिर्न जरुरी रहेको भन्दै अस्पताल परिसरमा उपमहानगरले प्रसुती बाल अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको बताइन् । उपमहानगर जिम्मेवार ढंगबाट लागेको भन्दै व्यवस्थित स्वास्थ्य अवस्था बनाउनका लागि के गर्न सकिन्छ सहकार्य गरेर अधि बढ्न तयार रहेको उपप्रमुख राजेश बानियाँले बताए ।







