व्यवसायीको बैंकमाथि गुनासो नै गुनासो

साझाकुरा
२०७९ असार २५, शनिबार ०७:५२

हेटौंडा- हेटौंडाका उद्योगी, व्यापारी तथा व्यवसायीहरुले बैंकमाथि थुप्रै गुनासो गरेका छन् । समस्या समाधानको निम्ति भन्दै मकवानपुर उद्योग वाणिज्य संघले बैंकसँग गरेको छलफल कार्यक्रममा व्यवसायीहरुको गुनासो नै गुनासो आएको हो । छलफलका क्रममा व्यवसायीहरुले बैंकबाट ब्याज असुलीका लागि समयअघि नै ताकेता गर्ने गरेको, नयाँ कर्जा निकासा नदिएको, कतिपय विषयमा सहजता भन्दापनि झन्झट सिर्जना गरिदिएको, कहिलेकाँही बिना जानकारी ब्याज बढाउने गरेको, नियमित किस्ता ब्याज बुझाउने व्यवसायीको कारोवारमा आएको मन्दीले समयमै बुझाउन नसक्दा बैंकले व्यवहारिक कठिनाई बुझिदिनु पर्नेलगायतका कुरा उठेका थिए । उद्योगी÷व्यवसायीको कारण बैंक चल्ने र बैंकको कारण उद्योग÷व्यवसाय चल्ने भएकोले मित्रवत सम्बन्ध कायम हुनुपर्ने छलफलमा चर्चा गरिएको थियो ।

बैंकका प्रतिनिधिहरुले शाखासँग प्रशस्त अधिकार नहुने, केन्द्रीय बैंक, राष्ट्र बैंक र नेपाल सरकारसँग कतिपय विषयहरु जोडिने, बैंक पनि व्यवसाय नै भएकोले नाफा खोज्ने जस्ता भनाइहरु राखेका थिए । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार बैंकर्ससंग छलफल गरेको हो । बैंकिड्ड कारोवारमा आइरहेका विभिन्न समसामयिक समस्याहरुबारे बैंकर्ससंग गरिएको छलफल कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कृष्णकुमार गुप्ताले गरेका थिए । कार्यक्रममा बैंकर्स मकवानपुरका अध्यक्ष रमेशराज घिमिरे, संघका पदाधिकारीहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु र विभिन्न बैंकका शाखा प्रबन्धकहरुको उपस्थिति थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षहरु प्रमोदसिंह रानाभाट, उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दिपक उप्रेती, सचिव राजाराम कार्की, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछाने, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष पवनकुमार अग्रवाल, कपडा व्यवसायी जावेद हुसेन, सुनचाँदी व्यवसायी प्रेम शाक्यलगायतले आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*