बालिकाले दिइन् यौन दुव्र्यहारको आरोपमा वडाध्यक्षविरुद्ध जोहेरी
हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकाकी एक बालिकाले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै वडा अध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविमा अध्ययनरत् करिब १६ वर्षीया बालिकाले राष्ट्रिपति रनिङ शिल्ड खेल्न हेटौंडा आएको बेलामा वडाध्यक्षबाट दुव्र्यवहारमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा शुक्रबार जाहेरी दिएकी हुन् ।१९ असारमा घटना भएको जनाइएको छ । हेटौंडा–१ स्थित आसन गेष्ट हाउसमा कालिका माविका विद्यार्थी खेलाडीसहित शिक्षकहरु बास बसेका थिए । होटलको एउटा कोठामा पीडित बालिकासहित दुई जना विद्यार्थी बसेका थिए । अन्य दुई विद्यार्थी सुतिसकेपछि वडा अध्यक्ष आफ्नो कोठामा आएर गलत कार्य गरेको बालिकाले जाहेरीमा बताएकी छन् ।
हेटौंडामा १८–१९ असारमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको थियो । प्रतियोगिताको अन्तिम दिन ९ नम्बरका वडा अध्यक्ष भुवनसिं घलानले आफ्नो संवेदनशील अंगमा नराम्रो तरिकाले छोएको पीडित बालिकाले आरोप लगाएकी छन् । घटना गाउँमै मिलाउन खोजेपनि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले घटनाबारे थाहा पाएपछि हेटौंडा ल्याएर परामर्श गरेको थियो । बालिका माइती नेपालको शरणमा पुगेकी थिइन् ।
आरोपी वडा अध्यक्ष घलानले भने आफूलाई फसाउन षड्यन्त्र भएको दाबी गरेका छन् । साझाकुरासँग कुरा गर्दै वडाध्यक्ष घलानले भने, ‘बालिकाहरु बसेको कोठामा करिब साढे ९ बजेदेखि १० बजेभित्र आफू प्रवेश गरेको हो । मैले कुनै गलत कार्य गरेको छैन । उनीहरुलाई झन केही समस्या प¥यो की भनेर सोध्न गएको र राम्रोसँग सुत्न आग्रह गरेर फर्किएको हुँ’, घलानले भने । विद्यालयको सक्रियतामा गाउँमै घटना मिलाउन खोजिएको थियो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीले घटना थाहा पाएपछि पीडित बालिकाहरुलाई विद्यालयमै बोलाएर सोघपुछ गरेका थिए ।







