अमर माविद्वारा जनप्रतिनिधिको स्वागत तथा छात्रवृत्ति
हेटौंडा- हेटौंडा–१ चाइनाक्वार्टरस्थित अमर माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रमबीच वडाका नवनिर्वाचित जनप्रतिनिधिको स्वागत गर्नुका साथै छात्रा छात्रवृत्ति वितरण गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको सभाध्यक्षता तथा वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत गरिएको हो । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले अमर मावि शैक्षिक र अतिरिक्त क्रियाकलापका हिसाबले अगाडि बढ्दै जाने क्रममा जिल्लामै दोस्रो स्थानसम्म हासिल गरिसकेको स्मरण गर्दै अब जिल्ला प्रथम हुने अभियानमा लाग्नुपर्नेमा जोड दिए । उनले शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको एकीकृत पहलबाट मात्रै विद्यालयको चौतर्फी विकास हुनसक्ने भन्दै यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा दुईसय ४२ जना छात्रा तथा ६० जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् । कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी विक, वडा सदस्यहरु सोनामसिं ब्लोन, रामकृष्ण अधिकारी र मनु दाहाल, विव्यसका सदस्य मानबहादुर लामा, सहायक प्रधानाध्यापक विश्वराज भण्डारीलगायतले विद्यालयको सुधारका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।







