गाउँपालिकालाई झुक्याएर नदीजन्य पदार्थ लगे, राजस्व नबुझाएपछि क्रसरमा लाग्यो ताला

साझाकुरा
२०७९ असार २६, आईतवार १०:०४

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाभित्रका पाँच वटा क्रसर उद्योगहरुमा ताला लागेको छ । गाउँपालिकालाई दाखिला गर्नुपर्ने राजस्व रकमको बक्यौता नबुझाएपछि शनिवार ताला लगाइएको हो । क्रसर उद्योगहरुले गाउँपालिकालाई नै झुक्याएर यसअघि नदीजन्य पदार्थ उत्खनन् गरेका थिए । मकवानपुरगढीका क्रसरहरुले गत जेठ अन्तिममा गाउँपालिकालाई बक्यौता रकम दाखिला गर्ने विश्वास दिलाएर नदीजन्य पदार्थ उत्खनन् गरेका हुन् । गाउँपालिकासँग लिखित सम्झौता गरेका क्रसर उद्योगहरुले सामरी खोलाबाट नदीजन्य पदार्थ थुपारेपछि बक्यौता रकम भने नतिरेका हुन् । क्रसर उद्योगले यसअघि १५ असारसम्म बक्यौता रकम तिर्ने सहमति गरेका थिए ।

क्रसर उद्योगहरुले राजनीतिक पहुँच र शक्तिको आडमा गाउँपालिकालाई झुक्याउन खोजेपछि अन्ततः गाउँपालिकाले क्रसरमा ताला लगाएको हो । गाउँपालिका कार्यालयले नदीजन्य पदार्थको राजस्व रकम नतिरेको भन्दै शनिवार पाँच वटा क्रसरमा ताला लगाएको हो । गाउँपालिकाको अभिलेख अनुसार २०७७ सालदेखि ५ वटा उद्योगहरुले गाउँपालिकालाई राजस्वको बक्यौता रकम नबुझाएको हो । गाउँपालिकालाई साईबाबा क्रसर उद्योगले २८ लाख, आमभञ्याङ एग्रिगेट प्रालिले २८ लाख, सामरी खोला बालुवा उद्योगले ४५ लाख, आधुनिक नमुना क्रसरले २३ लाख र नमुना बालुवा उद्योगले ३० लाख रुपैयाँ राजस्व बक्यौता रकम बुझाउन बाँकी छ ।

उनीहरुलाई गाउँपालिकाले पटक–पटक ताकेता गर्दापनि बक्यौता रकम नतिरेको गाउँपालिका अध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिइन् । शनिबार गाउँपालिकाकी उपाध्यक्ष पाख्रिनको संयोजकत्वमा ५ नम्बर वडा र ६ नम्बर वडाका वडाध्यक्ष र प्रहरीसहितको टोलीले राजस्व बक्यौता रकम नतिर्ने क्रसर उद्योगहरुमा ताला लगाइदिएको हो ।
५ नम्बर वडाका तीन वटा, ६ नम्बर वडाको एउटा र २ नम्बर वटाको एउटा गरी पाँच वटा क्रसर उद्योगहरुमा ताला लगाइएको उपाध्यक्ष पाख्रिनले बताइन् । क्रसर उद्योगहरुका कारण गाउँपालिकालाई सन्पन्न योजनाको भुक्तानी दिनसमेत मुस्किल परेको छ । आन्तरिक स्रोतमा बजेट नहुँदा गाउँपालिकाले चालू आर्थिक वर्षमा सम्पन्न भइसकेका योजनाको भुक्तानी दिन अप्ठेरो परेको राजस्व शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उपभोक्ता समितिहरुले गाउँपालिकाहरुलाई भुक्तानी दिन दबाब दिइरहेका छन् । गाउँपालिकाले भने आन्तरिक स्रोतमा भएको बजेट बराबरको मात्रै भुक्तादी दिने तयारी गरेको छ ।

भुक्तानी दिन नसकिएको खण्डमा आगामी आर्थिक वर्ष २०७९÷०८९ मा दायित्व सार्ने तयारी गाउँपालिकाको छ ।गाउँपालिकाले यसअघि भने क्रसर उद्योगहरुलाई सहयोग गरेको थियो । क्रसर उद्योगहरुले मौका पाउँदा सामरी खोलामा मनपरीसँग दोहन गर्ने गरेका थिए ।आम्दानीको लोभमा गाउँपालिकाले क्रसर उद्योगहरुको  संरक्षणसमेत गर्दै आएको थियो । बक्यौता रकम तिर्ने सर्तमा गत जेठ अन्तिममा समेत क्रसरहरुले सामरी खोलाको मनपरी दोहन गरेका थिए । बर्खा लागेपछि बिहानको झिसमिसेदेखि रातीसम्मै खोलामा एक्साभेटर र टिपरको लाभालस्कर लगाएर खोला दोहन भइरहेको थियो । दुई पटकसम्म ठेक्का नलागेपछि गाउँपालिकाले अमानतमै नदीजन्य पदार्थ उत्खनन् गरेको
थियो । वर्षौदेखि नवीकरण नभएका यी क्रसहरु अवैधसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*