सार्वजनिक सुनुवाईमा वडाध्यक्षकै समस्या अनेक

साझाकुरा
२०७९ असार २७, सोमबार ११:२९

हेटौंडा-सरकारी निकायहरुले सेवा प्रवाहका सम्बन्धमा गर्ने सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरुका समस्या र गुनासो धेरै सुनिनु सामान्य नै हो । किन की, सेवा प्रवाहमा नागरिकले भोगेका समस्या, अप्ठेरा पहिचान गर्न सार्वजनिक सुनुवाई गरिन्छ । तर, हेटौंडामा आइतबार आयोजित एक सार्वजनिक सुनुवाईमा भने नागरिकसँगै वडा अध्यक्षहरुकै समस्या अनेकौ देखिएको छ । हेटौंडाका वडा अध्यक्षहरुलाई नागरिकताको सिफारिस, घटना दर्ता, सामाजिक सुरक्षा भत्ता वितरणमा परेका समस्या कार्यक्रममा पोखिएको हो । नागरिकताको सिफारिसका लागि हेटौंडाका वडा अध्यक्षहरुलाई अनेकौ अप्ठेरो परेको सार्वजनिक सुनुवाईमा खुलेको छ ।

नागरिकता जस्तो संवेदनशील विषयमा हेटौंडाका वडा अध्यक्षहरु गम्भिर रहेकोपनि पाइएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा हेटौंडामा भएको सामाजिक सुरक्षा वितरण कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विषयक प्रदेशस्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्षहरुले नागरिकताको सिफारिस, घटना दर्ता, विवाह दर्ता तथा नगरबासीले उपमहानगरपालिकासँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए । विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता व्यवस्थापनका सम्बन्धमा सहजीकरण गरेको थियो ।

वडाध्यक्षहरु, वडा सचिवहरु, नागरिक समाजका प्रतिनिधिलगायतले कानून र व्यवहारमा परेका अप्ठ्याराका सम्बन्धमा विभागसँग जिज्ञासा राखेका थिए । हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले पेन्सन खाँदै आएकालाई वृद्ध भत्ता काट्नु भन्ने निर्देशनले वडामा अप्ठेरो परेको बताए । उनले भत्ता काट्नु परेमा संघीय सरकारबाटै काटेर पठाउँदा उपयुक्त हुने भन्दै वडा अध्यक्षलाई अप्ठेरो पर्ने गरी वडा अध्यक्षलाई जिम्मा नलगाउन आग्रह गरे । उनले ६८ वर्षदेखि दिइने भनिएको वृद्ध भत्ताको कार्यान्वयन कहिलेदेखि हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

विभागका महानिर्देशक तीर्थराज भट्टराईले पेन्सन खाँदै आएका नागरिकलाई भत्ता नदिन निर्देशन दिए । राज्यले कानुनमै एउटा व्यक्तिलाई दोहोरो सुविधा नदिने नीति लिएको भन्दै पेन्सन वा भत्ता एउटा सुविधा प्रदान गर्नुपर्ने बताए । उनले वडा अध्यक्षलाई नै पेन्सन र भत्ता लिनेबारे छानबिन गर्ने अधिकारी दिएको बताए । भट्टराईले ६८ वर्षदेखि वृद्धा भत्ता दिइने कार्य तत्काल कार्यान्वयनमा आउने बताएका छन् । आर्थिक ऐन संशोधन भएपछि ६८ वर्षदेखिकालाई भत्ता वितरण सुरु हुने भट्टराईको भनाई थियो ।
हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाले विगतमा जन्मसिद्ध नागरिकता लिएका एउटा चेपाङ परिवारका अन्य सदस्यले नागरिकता नपाएको भन्दै समस्या कहिले समाधान हुन्छ भन्दै प्रश्न गरेका थिए ।

हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरेले सानैदेखि अभिभाकत्व लिएर पालेकाहरुको मृत्यु भएपछि एक युवकले ठूलो भएर विवाह गरेको र वडामा विवाह दर्ता गर्न आएकाले उनीहरुको पहिला नागरिकता बन्नु पर्नेभन्दै नागरिकता बन्न नसकेको समस्या सुनाएका थिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले दुवै वडा अध्यक्षहरुको जिज्ञासा सम्बोधनको क्रममा दुवै जनाको नागरिकता बन्न सक्ने भन्दै कानुनी प्रावधान बारे जानकारी दिएका थिए । चेपाङ परिवारको हकमा भने जन्मसिद्ध नागरिकता पाएकाहरुको समस्या समाधान निकाल्न ऐन संशोधन भइरहेको जनाइएको छ ।

हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन र ११ नम्बरका वडा अध्यक्ष जुना दहालले एउटै समस्या आएको जानकारी  गराएका थिए । उनीहरुले विदेशी पुरुषसँग विवाह गरेका महिलाबाट जन्मिएका सन्तानको नागरिकता बन्न नसकेको बताएका छन् ।श्रीमानको मृत्यु भएपछि नागरिकता दिन भन्दै वडा कार्यालयमा पटक–पटक दबाब आएको भन्दै वडाध्यक्ष दहालले समाधान खोजिदिन विभागका महानिर्देशकलाई आग्रह गरेकी थिइन् । सार्वजनिक सुनुवाईका क्रममा अन्य सहभागीहरुले ज्येष्ठ नागरिकहरुको विश्राम स्थाल कहिले निर्माण गर्ने, अलपत्र विकासका योजना कहिले सम्पन्न गर्ने ? लगायतका थुप्रै प्रश्न राखेका थिए ।

जवाफमा हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माणको लागि बजेट व्यवस्था गरेर अगाडि बढेको बताएकी छन् । उनले अलपत्र विकास योजना चाँडै सम्पन्न गर्न चासो लिइरहेको बताएकी छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नागरिकलाई पर्ने हरेक काममा सहजीकरण गरेर काम गर्न आग्रह गरेका छन् ।सरकारले सामाजिक सुरक्षा भत्ता लिन्न भन्नेहरुलाई सरकारले सम्मान गर्नुपर्ने बेला आएको उनको भनाई थियो । पहिले जनप्रतिनिधिमा चुनाव लड्दा घरमै भत्ता ल्याइदिउँला भनेर प्रतिबद्धता गरेजस्तो अहिले व्यवहारमा कार्यन्वयन गर्न समस्या भएको घलानले बताए ।

विभागका महानिर्देशक भट्टराइले चालु आर्थिक वर्षमा सरकारले ३५ लाख नागरिकलाई वैदेशिक ऋणसमेत लिएर एक खर्ब रुपैयाँ भत्तामा मात्र बितरण गरेको जानकारी गराएका छन् । सामाजिक सुरक्षा भत्ता नलिनेलाई स्थानीय र संघीय सरकारले सम्मान गर्ने उनले बताए ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, वडा अध्यक्षहरु धनबहादुर थापा, सुनिल मोक्तान, नागरिक समाजकातर्फबाट केदार प्रसाद न्यौपाने, टिकाभक्त उप्रेतीलगायतकाले सार्वजनिक सुनुवाइमा आफ्ना समस्या राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*