निर्धारित समयभन्दा तीन महिना अगाडि नै बन्यो राप्ती पुल

साझाकुरा
२०७९ असार २८, मंगलवार ०९:५३

हेटौंडा- सम्झौता भएको वर्षौसम्म पनि बाटो र पुलजस्ता सार्वजनिक सरोकारको भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्न नभएर आमनागरिकदेखी सरकार पनि आजित हुँदै आएको छ ।निर्माण कार्यको लागि ठेक्का सम्झौता गर्ने अधिकांश निर्माण व्यवसायीहरुले वर्षेनी अनेक बहाना बनाएर सम्झौता मिती थप्नुपर्ने माग गर्ने गरेका छन् । निश्चित समय भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लिखित सम्झौता गरेपनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने निर्माण कम्पनीहरु भेट्टाउन मुश्किल पर्ने गर्छ । यस्तोमा निर्धारित समयभन्दा अगाडि नै हेटौंडाको एउटा पुन निर्माण कार्य सम्पन्न हुँदा स्थानीयबासी आश्चर्यमा परेका छन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने राप्ती पुल सम्झौता भएको निर्धारित समयभन्दा तीन महिना अगाडि बनेपछि स्थानीयबासीहरु खुसी मात्रै होइन आश्चर्यमा पनि परेका छन् । वर्षौदेखी खोला तरेर बगरको बाटो आउजाउ गर्ने दुईवडाको बासिन्दा यतिबेला तोकिएको समयभन्दा अगाडि नै पुल बनेपछि हर्षित बनेका हुन् । समय भन्दा अगाडि नै पुल बनेपछि दैनिक रुपमा पुल हेर्न जाने र फोटो खिच्नेहरुको भीड नै लाग्न थालेको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्न ाप्ती खोला तर्ने २ सय १५ मिटरको पुलले दुई वडालाई मात्रै जोडेको छैन, निर्माण क्षेत्रमा हुने ढिलासुस्ती र बहाबाजीलाई एउटा सकारात्मक उदाहरणीय झापड पनि हानेको छ । यसले समयमा निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायी कम्पनीहरुलाई दवाव पनि दिएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले ठेक्का दिएको निर्माण कम्पनीले निर्धारित समयभन्दा तीन महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने उक्त पुल प्रदेश सरकारले हालसम्म निर्माण गरेको ७१ वटा पुलहरुमध्येको सबैभन्दा ठूलो पुल  रहेको समेत निर्देशनालयका निर्देशक सहदेव भण्डारीले बताए । उनको अनुसार निर्देशनालयले एलिट कन्सट्रक्सन कम्पनी प्रालिसँग २०७६ असोज २७ मा पुल निर्माणका लागि सम्झौता गरेको थियो ।पुल निर्माणका लागि २०७९ असोज २६ सम्मको समायवधि रहेकोमा कम्पनीले असारमै काम सम्पन्न गरेको उनको भनाइ छ । २ सय १५ मिटर लम्बाई र ११ मिटर चौडाइमा निर्माण भएको उक्त नवलपुर र आल्दामार जोड्ने पुलले दुई वडाका स्थानीयको अवागमनलाई सहज बनाएको छ । यी दुई वडा जोड्ने यो पहिलो मोटरेबल पुल हो ।

निर्देशक भण्डारीले पुल निर्माणको लागि ३२ करोड ८८ लाख २९ हजार पाँचसय १३ रुपैयाँ खर्च अनुमान गरिएकोमा २७ हजार ४६ हजार २० हजार दुईसय ३३ रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिए । उनको अनुसार यसअघि प्रदेशले निर्माण गरेको नुवाकोटको तादी खोलाको ६५ मिटरको पक्की पुल तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको थियो । ‘प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको छ । जसमध्ये दुईवटा पुल तोकिएको समयभन्दा अगाडि सम्पन्न भएको छ । हामी निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रशितका दरले बाँकी समयको रकम पुरस्कारस्वरुप उपलब्ध गराउने छौं,’ निर्देशक भण्डारीले भने ।

प्रदेशले ठेक्का आह्वान गरेकोमध्ये हाल ३० वटा पुल निर्माणाधिन अवस्थामा रहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा करिब २ सय वटा पुलको ठेक्का आह्वान गर्ने तयारीमा निर्देशनालय रहेको छ । निर्माण कम्पनीका प्रतिनिधि राजु विडारीका अनुसार पर्सा राष्ट्रिय निकुञ्जका कारण पुल निर्माणमा केही समस्या सिर्जना भएको थियो । ‘निकुञ्जसँग समन्वय गरेर पुल निर्माण गर्नुपर्ने कारण केही ढिला सम्पन्न हुन पुग्यो । हामी अझै छिट्टो निर्माण गर्न सक्थ्यौं,’ उनले भने । प्रदेशले ठेक्का आह्वान गरेकोमध्ये हाल ३० वटा पुल निर्माणाधिन अवस्थामा रहेको भण्डारीले जानकारी दिए । पुल निर्माण भएसँगै अल्दामार र नवलपुरको ४० मिनेटको बाटो ५ मिनेटमा छोट्टिएको छ ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा बहुवर्षिय रुपमा कार्यान्वयन भई सञ्चालन भइरहेको पाँच वटा ठुला योजनाहरु सम्पन्न गरेको छ । प्रदेश यातायात पूर्वाधार निर्देशनालयको अनुसार राप्ती नदी पुल निर्माण, भीमफेदी कुलेखानी सडक कालोपत्रे, नुवाकोटको पञ्चकन्या र तादी जोड्ने ३ सय ३५ मिटरको बैसीकठेरी झोलुंगेपुल, १ सय १५ मिटरको दुप्चेश्वर र माझागाँउ जोड्ने बिमिरे झोलुंगेपुल, मकवानपुरको भीमफेदी र धार्के दोभान जोड्ने १ सय ९० मिटरको झोलुंगे पुल र सिन्धुपाल्चोकको १ सय २९ मिटरको ताप गाउँ पंगर्पू झोलुंगे पुल निर्माण सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*