शैक्षिक मेला गर्दै जनकल्याण मावि
हेटौंडा- थाहा नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयले ‘प्रथम जनकल्याण शैक्षिक मेला–२०७९’ आयोजना गर्ने भएको छ । जनकल्याण माविको व्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यसहित शैक्षिक मेला आयोजना गर्न लागेको बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए । थाहा नगरमा रहेका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र सञ्चारकर्मीबीच भएको अन्र्तक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले नगर भित्रका विद्यालयबीच शैक्षिक गुणस्तर मापन, विद्यार्थीहरुको क्षमता बिकास र शैक्षिक ज्ञान आदानप्रदान गर्नका लागि शैक्षिक मेला फलदायी हुने दावी गरेका छन् ।
शैक्षिक मेलामा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुट तथा विज्ञान प्रदर्शनी प्रतियोगिता हुने सहायक प्रधानाध्यापक रायमाझीले बताए । रायमाझीले विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिनेसमेत बताए । मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहने, बिद्यार्थीको सीप परीक्षण, निशुल्क माटो परीक्षण सिविर, प्लान्ट क्लिनिक समेत रहेको आयोजकले जनाएको छ ।
२०२५ सालमा स्थापना भएको थाहा नगरको अग्रणी शैक्षिक संस्था जनकल्याण माविमा हाल बिज्ञान, बाली विज्ञान (कक्षा ९–१२), व्यवस्थापन, शिक्षा, मानविकी र कृषि विषयको तीन बर्षे स्नातक तहको अध्ययन अध्यापन भइरहेको छ ।
न्र्तक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले ३०–३१ असारमा जनकल्याण मावि प्राङ्गणमा हुने शैक्षिक मेलामा सहभागी हुन थाहा नगरका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थीपत्रकार लगायत सरोकारवालाहरुलाई आग्रह गरे ।एसईई दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि बिषय छनौट गर्न सहज वातावरण बनाई विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गरी नगरभित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताए ।







