हेटौंडाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषध खैरो हेरोइन ओसारपसार गरेको आरोपमा फरक–फरक स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा–१६ हटिया त्रिशुलेस्थित धरान–चतरा सडक खण्ड अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले एक व्यक्तिलाई पक्राउ गरेको हो । चिसापानी चोकबाट हर्नामाडीतर्फ शंकास्पदरुपमा पैदल हिँडिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका १६ चिसापानी बस्ने ३४ वर्षीय विकराज विकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने खैरो धुलो पदार्थ ४० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । यसैगरी, खैरो हेरोइनसहित हेटौंडा–१० मित्रमार्गको सडकमा शंकास्पदरुपमा बसिरहेको अवस्थामा सोही वडामा बस्ने ३७ वर्षीय रञ्जित आले मगरलाई पनि पक्राउ गरिएको छ ।
मगरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । मगरको साथबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने खैरो रङको धुलो पदार्थ ४० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी हेटौंडा बसपार्कबाट खटिएको टोलीले १० नम्बर वडाको बसपार्कबाट अर्का एक जनालाई पनि पक्राउ गरेको छ । हटौंडा–२ बस्ने ४८ वर्षीय उज्वलकृष्ण मानन्धरलाई खैरो हेरोइन जस्तो देखिने १ सय मिलिग्राम खैरो रङको धुलो पदार्थसहित फेला पारी नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।







