हेटौंडा अस्पतालको समस्या अध्ययन गर्न समिति गठन

साझाकुरा
२०७९ असार ३०, बिहीबार ११:२६

हेटौंडा- हेटौंडा अस्पतालकोे व्यवस्थापकीय कमजोरीका कारण बिरामीहरुले स्वास्थ्य उपचारमा दुःख पाइरहेको जनगुनासो बढेपछि सर्वपक्षीय चासो बढेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधवार सरोकारवाला निकायहरुको सर्वपक्षीय बैठकले अस्पताल सुधार गर्न कदम अगाडि बढाएको हो । अस्पताल भित्रको समस्या समाधानका लागि भन्दै बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सर्वपक्षीय बैठक बसेको हो । बैठकले अस्पताल सुधारका निम्ति ६ वटा निर्णय गरेको छ । पछिल्लो समय हेटौंडा अस्पतालबाट हुने सेवा प्रवाह, अस्पतालको व्यवस्थापकीय पक्षलगायतका विषयमा जनगुनासो बढ्दै गएको भन्दै अध्ययन गर्न समिति गठन गरिएको हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जनकारी दिए ।

अस्पतालको गतिविधि सम्बन्धमा सरोकारवालाहरुले उठाएका चासोको विषयमा सत्यतथ्य अध्ययन गरी प्रतिवेदन पेश गर्न स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिले १५ दिनभित्र अस्पतालको सेवा प्रवाह, जनशक्तिको व्यवस्था, अस्पतालको व्यवस्थापकीय पक्षका साथै सुधार गर्न चाल्नुपर्ने आवश्यक कदमसम्बन्धी सुझावसहितको बिस्तृत प्रतिवेदन पेश गर्ने प्रवक्ता न्यौपानेले बताए । समिति सदस्यमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाका डा. अर्जुन सापकोटा, प्रदेश लेखा नियन्त्रक कार्यालयका होमनाथ रिजाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत गुणराज न्यौपाने, उपमहानगरका प्रवक्ता सविन न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च नेपालका सरोज विडारी, सार्वजनिक सेवा सुधार संघर्ष समितिका दीपेन्द्रचन्द ठकुरी र नेपाल पत्रकार महासंघ मकवानपुरको एक जना प्रतिनिधि रहेका छन् ।

अस्पताल सुधारको माग राखेर आन्दोलनरत् सार्वजनिक सेवा सुधार संघर्ष समितिले सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने र अस्पताल परिसरभित्र राखेको टेन्टलगायका सामग्रीहरुसमेत हटाउने सहमति भएको छ । सार्वजनिक सरोकारको कुनै विषयमा असन्तुष्टि वा गुनासो भए सम्बन्धित निकायमा उक्त विषय जानकारी गराई आवश्यक सहयोगसमेत गर्ने सहमति भएको जनाइएको छ ।अस्पतालमा कार्यरत् चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु निजी स्वास्थ्य संस्थामा कार्य गर्नुपरेमा तोकिएको समय बाहेक अन्य समयमा कार्य गर्ने तर, निजी स्वास्थ्य संस्थाहरुमा कार्य गर्ने स्वास्थ्यकर्मीहरुले सम्बन्धित निकायबाट आगामी १० दिनभित्र अनुमति लिई सक्नुपर्ने नियम बनाइएको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । अस्पतालले अस्पतालबाट प्रवाह हुने सेवाहरु र उक्त सेवा प्रदान गर्नका लागि उपलब्ध स्वास्थ्य जनशक्ति, स्वास्थ्य उपचारमा लाग्ने समय र शुल्कसहितको विवरण अस्पताल परिसरमा सबैले देख्नसक्ने गरी राख्ने निर्णय भएको छ ।

चिकित्सक तथा नर्सहरुको प्रत्येक दिनको डिउटी रोष्टर तयार गरी अस्पतालको सूचना पाटी, फेसबुकपेज र वेबसाईटमासमेत राख्ने व्यवस्था अनिवार्य मिलाउने बैठकले निर्णय गरेको छ । अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीहरु कुनै कारणवश जरुरी सरकारी काम वा अन्य कारणले बाहिर जानुपर्ने भएमा लग बुकमा उल्लेख गर्नुपर्ने भएको छ । अस्पताल र सार्वजनिक सेवा सुधार संघर्ष समितिबीच भएका १५ बुँदे सहमतिहरु अस्पतालले क्रमशः कार्यान्वयन गर्दै जाने बैठकबाट निर्णय भएको न्यौपानेले जानकारी दिएका छन् ।

अस्पतालमा बिरामीले टिकट काट्न कै लागि घन्टौं लाइन बस्नुपर्ने, चिकित्सकहरुको मनोमानीले बिरामीहरुले अनावश्यक दुःख व्यहोर्नुपर्ने, भिडियो एक्स–रे, औषधि लिन र ल्याबबाट रिपोर्ट लिन घण्टौं कुर्नुपर्ने समस्या भएको भन्दै विगतदेखि नै हेटौंडाका युवाहरु आन्दोलनरत् थिए । उनीहरुले अस्पताल परिसरमा निरन्तर धर्ना दिँदै चिकित्सहरुको निगरानीसँगै कमजोरव्यवस्थापनका बारेमा अस्पताल प्रशासनलगायत सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराइरहेका थिए ।

अस्पतालमा लापरबाही बढेको भन्दै सार्वजनिक सेवा सुधार संघर्ष समिति गठन गरेर युवाहरु निरन्तर आन्दोलनमा होमिएका थिए । यसबीचमा उनीहरुले जिल्लास्थित राजनीतिक दल, प्रदेशको स्वास्थ्य मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, स्वास्थ्य निर्देशनालयहरुमा अस्पताल सुधारका निम्ति दबाब बढाएका थिए । यसअघि उपमहानगरले बैठक गरी समस्या समाधानको पहल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*