कविता लेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थी छनौट
हेटौंडा- भानु जयन्ती विशेष अवसरमा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् । बुधबार हेटौंडामा २०९ औँ भानु जयन्तीको अवसरमा हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा भएको प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका हुन् ।सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका प्रज्ञान पन्त, सत्यम् जेभियर्स बोर्डिङ स्कूलका स्तुति कर्ण र जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने उत्कृष्ट घोषित भएका थिए भने प्रतियोगितामा जीएस निकेतन विद्यालयका सारा केसी सान्त्वना भइन् ।
प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई शिल्ड, प्रमाणपत्रसहित नगद प्रदान गरिएको छ । प्रतियोगितामा नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय कक्षा ९ र १० मा अध्ययनरत् २९ जना विद्यार्थीले स्थलगत कविता लेखनमा सहभागिता जनाएका थिए । नवोदय साहित्यक बगैँचा बाल क्लबकी अध्यक्ष दर्शना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाघर रिमालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार तथा अधिवक्ता ऋषि के.वीद्वारा रचना गरिएका रगतले लेखिएको इतिहास पहिलो गजल नाटक मञ्चन भएको थियो ।
उक्त नाटकमा स्वर साहित्यकार पुरुषोत्तम आचार्यको रहेको थियो भने निर्देशन आशाकाजी श्रेष्ठले गरेका थिए । प्रतियोगितामा साहित्यकार पुष्प पराग, छवि अनित्य, ऋषि केवीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नवोदय साहित्यिक बगैँचा बाल क्लवका उपाध्यक्ष रोनश उप्रेतीले शिक्षामा हुने परिवर्तन विषयक बहस कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा साहित्यकार डीबी बर्तौला, दीपक गौतम, नवोदय विद्यालयका विद्यार्थीले भानु जयन्तीसम्बन्धि कविता तथा गीत प्रस्तुत गरेका थिए ।







