युनियन महाधिवेशनः आज देउवा आउँदै, उपाध्यक्षमा मकवानपुरबाट दुई आकांक्षी
हेटौंडा- हेटौंडामा हुने नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज हेटौंडा आउने भएका छन् । देउवाले करिब ८ बर्षपछि हुन लागेको महाधिवेशनलाई सम्बोधन गर्नेछन् । महाधिवेशनका लागि कांग्रेसका अन्य नेताहरुपनि हेटौंडा आउने जनाइएको छ । ७ साउनमा युनियनको नयाँ नेतृत्वका लागि मतदान हुने जनाइएको छ । आज शुक्रबार उद्घाटन समारोह सकिने बित्तिकै निर्वाचनका कार्यक्रम अगाडि बढ्ने भएको हो । महाधिवेशनको आतिथ्यता जिल्ला प्रेस युनियन मकवानपुरले सम्पूर्ण तयारी सकेको जनाइएको छ ।
महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीले बताए । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई हेटौंडाका अतिरिक्त चितवनको सौराहा र बाराको अम्लेखगञ्जका होटलमा राख्ने प्रबन्ध र आवतजावतको लागि यातायातको सुविधा उपलब्ध गराइएको महाधिवेशन आयोजक आवास समितिका संयोजक रुपेश दुलालले जानकारी दिए ।
प्रधानमन्त्री देउवाको आगमनका कारण जिल्लामा प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको छ । सुरक्षा निकायले आवश्यक तयारी पूरा गरिसकेको र स्थानीय बजारमा यातायात सञ्चालनको लागि वैकल्पिक मार्गको व्यवस्थापन मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले साझाकुरालाई जानकारी दिएका छन् ।
उपाध्यक्षमा दुई जना आकांक्षीयुनियनको महाधिवेशनमा मकवानपुरका चार जना आकांक्षी देखिएका छन् । जसमध्ये दुई जना उपाध्यक्षका आकांक्षी छन् । खुल्ला उपाध्यक्षमा राममणि दाहाद आकांक्षी हुन् । उनी गोरखापत्र दैनिकको बागमती प्रदेश संयोजक हुन् । यसैगरी, भूगोलतर्फ बागमतीबाट उपाध्यक्षमा गिरिजा अधिकारीको दावी छ । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वउपाध्यक्षसमेत रहेका अधिकारी तु खबर डटकमका सम्पादक÷अध्यक्ष हुन् ।
दाहाल अध्यक्ष पदका उम्मेदवार आकांक्षी शिव लम्साल प्यानलका हुन् । अधिकारी संस्थापन पक्ष मानिएको अध्यक्ष पदको उम्मेदवार आकांक्षी अनिता बिन्दु प्यानलका हुन् । यसैगरी, मकवानपुरबाट केन्द्रीय सदस्य पदमा दुई जनाले दाबी गरेका छन् । माधव न्यौपाने र राजन दाहालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।







