विद्यार्थीले पैसा उठाएर फेरे फुटेको सिसा र गमला
हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीले झ्यालको सिसा र फूलको गमला फुटाएपछि हेटौंडा क्याम्पसका विद्यार्थीहरुले पैसा उठाएर फेरेका छन् ।
हेटांैडा क्याम्पसमा मंगलबार स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका ४ छात्रामाथि कार्यालय सहयोगीबाट दुव्र्यवहार भएको आक्रोशमा विद्यार्थीहरुले बुधवार बिहान प्रदर्शनको क्रममा सिसा र गमला फुटाएका थिए ।क्याम्पसको पूर्वतर्फ रहेको भवनको सिसा ढुंगा प्रहारबाट फुटेको थियो । हेटौंडा क्याम्पसमा परीक्षाका क्रममा चिट ल्याएको भन्दै दुई जना महिला कार्यालय सहयोगीहरुले ३ जना छात्राको पाइन्ट र १ जना छात्राको भित्री वस्त्रसमेत खोल्न लगाएको आरोप पीडितहरुले लगाएका थिए ।
उनीहरुलाई बुधवार नै क्याम्पस प्रशासनले निलम्बन गरेर घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाइएको छ ।
क्याम्पसले पीडितहरुसँग सहमति गर्दा विद्यार्थीहरुले मिलापत्र गर्न खोजिएको भन्दै ढुंगाले भवनमा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तोडफोडबाट क्षति पुगेको १४ वटा सिसा र ४ वटा झ्यालको यूपिभिसी प्यानल हेटौंडा क्याम्पसका विद्यार्थीहरुले १ सयदेखि २ सय रुपैयाँसम्म संकलन गरेर बिहीवार जडान गरिएको स्नातक तह चौथो वर्षमा अध्ययनरत् राजिव फुयाँलले बताए । स्नातक तह चौथो वर्षको समूहले क्याम्पसमा तोडिएको सिसा जडान गरिएको छ । फुयाँलले आफ्नै ६ हजार रुपैयाँ खर्चमा २३ वटा फूलसहित गमलापनि राखेको बताए ।
अर्को क्याम्पसका विद्यार्थीहरुले सिसा र गमला फुटाएपनि हाम्रो मन्दिर हामीले बनाउनु पर्छ भनेर सबैसँग पैसा उठाएर टुटेका सिसा र गमला आज जडान गरेका हौं ।,’ फुयाँलले भने । अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटी अध्यक्ष अभि मैनालीले शैक्षिक संस्था तोडफोड गर्नु निन्दनीय कार्य भएको बताए । उनले विद्यार्थीहरुको सहयोगबाट क्याम्पसलाई पूववत् अवस्थामै ल्याइएको बताए ।







