मकवानपुरमा नागरिकता र राहदानी बनाउने ह्वात्तै बढे
हेटौंडा- मकवानपुरमा नागरिकता र राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७७÷०७८ भन्दा गत आव २०७८÷०७९ मा नागरिकता र राहदानी बनाउनेको संख्या दोब्बर भन्दा बढी छ ।मकवानपुरमा गत आर्थिक वर्ष २०७८÷०७९ भित्र १८ हजार भन्दा बढीले नागरिकताको प्रमाणपत्र लिएका छन् । साढे ६ हजारले एक वर्षमा जिल्लाबाट राहदानी बनाएका छन् ।जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गत आवमा १८ हजार ५ सय ६३ जनाले नयाँ नागरिकत पाएका हुन् । नागरिकता लिनेमा पुरुष भन्दा महिला बढी छन् । जसमध्ये ९ हजार ८ सय ३३ महिला र ८ हजार ७ सय ८ जना पुरुषले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा ७ हजार ९ सय १८ जनाले मात्रै नागरिकता बनाएका थिए । ५ हजार १ सय ४९ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको वार्षिक विवरणमा उल्लेख छ ।आव २०७७÷०७८ मा भन्दा गत आव ०७८÷०७९ मा नागरिकताको प्रतिलिपि बनाउने पनि बढी छन् । गत आवमा १० हजार २ सय १६ जनालाई प्रतिलिपि नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । वैवाहिक अंगिकृत नागरिकता लिनेपनि बढे । आव २०७७÷०७८ ९ जनाले मात्रै वैवाहिक अंगिकृत नागरिकता लिएका थिए भने आव २०७८÷०७९ मा २२ जनालाई वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आर्थिक वर्ष २०७८÷०७९ मा ६ हजार ५ सय ३२ राहदानी वितरण भएको छ । ४ सय १५ वटा राहदानी वितरण हुन बाँकी रहेको जनाइएको छ ।
कार्यालयले ६ हजार ९ सय ४७ राहदानीमा साधाराण सिफारिस गरेको छ भने ४ हजार १ सय ३८ द्रुत सिफारिस गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार ५ सय २४ राहदानी वितरण गरेको थियो । आव ०७७÷०७८ मा ४ हजार ३ सय ७४ राहदानीमा कार्यालयले साधारण सिफारिस गरेको थियो भने २ हजार ९ सय ५१ द्रुत सिफारिस गरेको थियो ।एकसय ५६ मुद्दा फछ्र्यौटजिल्ला प्रशासन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७८÷०७९ मा एकसय ५६ वटा मुद्दा फछ्र्यौट गरेको छ । आव २०७७÷०७८ को फछ्यौट हुन बाँकी ३६ वटा मुद्दा थिए ।गत आव ०७८÷०७९ मा प्रशासनमा १ सय ४९ मुद्दा दर्ता भएका थिए । प्रशासनमा कालोबजारी, अभद्र व्यवहार र जुवाताससँग सम्बन्धित मुद्दा छन् । मकवानपुर प्रशासनले आर्थिक वर्ष २०७८÷७९ मा ५३ नयाँ संस्था दर्ता भएको जानकारी दिएको छ । ३ सय ७ वटा संस्था नविकरण भएको जनाएको छ । त्यस्तै, २ वटा पत्रपत्रिका दर्ता भएको छ । प्रशासनले २३ पटक बजार अनुगमन गरेको छ । ३ पटक कार्यालयहरुको छड्के जाँच गरिएको प्रशासनले जनाएको छ ।







