वडा कार्यालयमा लगाइएको ताला खोलियो

साझाकुरा
२०७९ श्रावण ६, शुक्रबार ०९:१२

हेटौंडा-करार सेवाका कर्मचारी हटाएको विरोधमा कैलाश गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा लगाइएको ताला प्रहरीले खोलेको छ । वडा कार्यालयमा कार्यरत् कर्मचारीहरुले म्याद थप नगरी जागिरबाट निकालेको भन्दै बुधवार ताला लगाएका थिए । पालिकाले कुनै आधार नखुलाई हटाएको भन्दै आन्दोलनमा होमिएका कर्मचारीले ताला लगाएपछि बिहीवार प्रहरीले उक्त ताला तोडेर कार्यालय सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले २ साउनमा सूचना जारी गर्दै करार सेवाका कर्मचारीलाई काममा नआउन उर्दी जारी गरेको थियो । १ नम्बर वडा कार्यालयमा काम गर्दै आएका कार्यालय सहयोगी राजेन्द्र लामाले राजनीतिक प्रतिशोधका कारण कामबाट हटाएको आरोप लगाएका थिए । वडा कार्यालयबाट हुने गरेका कार्यसम्पादन प्रभावित भएपछि वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिको रोहबरमा डाँडाखर्क प्रहरी चौकीको टोलीले ताला खोलेको हो ।कार्यालय सहयोगीका रुपमा कार्यरत आस्मान थिङ र राजेन्द्र लामाले कार्यालयको काम नगर्ने, जनप्रतिनिधि तथा वडा सचिवको निर्देशन नमान्ने, उल्टै वादविवादमा उत्रने गरेको वडा अध्यक्ष तेजबहादुर ब्लोनले बताएका छन् ।

वडाबासीबाटसमेत कार्यालय सहयोगीबाट सहज र छिटोछरितोसँग कार्यसम्पादन हुन नसकेको गुनासो आएको वडाध्यक्ष ब्लोनले बताए । यसअघि कार्यालय सहयोगी तामाङलाई गाउँपालिकामा हाजिर हुन पत्राचार गरेपनि उनले अटेर गरी वडा कार्यालयमै हाजिर हुने गरेको वडाध्यक्ष ब्लोनले बताए ।२२ असारमा गाउँ कार्यपालिका बैठकले करार सेवाका कर्मचारीको म्याद थप नगर्ने र १ साउनदेखि काममा नलगाउने निर्णय गरेको थियो । गाउँपालिकाले बिषयगत शाखा, कार्यालय सहयोगी, स्वास्थ्य, न्यायिक समितिमा कार्यरत् करार सेवाका कर्मचारी हटाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*