सेवा सुधारको नाममा अवाञ्छित गतिविधि नगर्न चेतावनी
हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लास्थित सार्वजनिक निकायहरुमा सेवा सुधारको नाममा अवाञ्छित गतिविधि नगर्न चेतावनी दिएको छ ।
विभिन्न समूहले जिल्लामा अनुगमनको नाममा अवाञ्छित गतिविधि गरेको भन्दै शुक्रबार यस्ता कार्य नगर्न चेतावनी दिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्र देव पाण्डेले पछिल्लो समय विभिन्न समूहबाट सेवा सुधारको नाममा सरकारी कार्यालय, अस्पताल, विद्यालयलगायतका क्षेत्रमा प्रवेश गरेर अवाञ्छित गतिविधि गरेको र सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै सवारी रोक्ने, चाबी खोस्नेलगायतको गतिविधि गर्ने परिपाटी बिस्तार हुँदै गएको पाइएको भन्दै उक्त कार्य नगर्न चेतावनी दिएका हुन् ।
प्रजिअ पाण्डेले सरकारी निकायको सेवा प्रवाह सम्बन्धमा कुनै गुनासा भए प्रचलित कानूनले तोकेको विधिअनुरुपको प्रक्रिया अबलम्बन गर्न आग्रह गरेका छन् । सूचनाको बर्खिलाप हुने गरी कुनैपनि गतिविधि संचालन गरे, गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । सार्वजनिक सेवा सुधार संघर्ष समितिको नाममा पछिल्लो समय हेटौंडा अस्पताल, शैक्षिक संस्था र मालपोत कार्यालयमा उनीहरुले सेवा प्रवाहको विषयमा चासो लिँदै आएका छन् ।







