व्यवहारिक शिक्षा दिन भवन
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाको २ नम्बर वडास्थित छाप क्षेत्रका बालबालिकालाई व्यवहारिक शिक्षा दिन तीन कोठे भवन तयार भएको छ । विद्यालयमा औपचारिक शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गर्न बालबालिकामैत्री तीन कोठे भवन निर्माण गरेर आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालय शिक्षा नीति तथा अभ्यास केन्द्र काठमाडौंको पहलमा बेल्जियमबाट आएका आर्किटेक्चर विद्यार्थीहरुको श्रमदानबाट निर्माण भएको हो । बेल्जियमको विकास एसोसिएसन एनपीओ, वास्तुकला विभाग केयुल्युभन र पूर्वीजलान्दर प्रदेशबाट आएका आर्किटेक्चरहरुले ४ वर्ष अगाडि व्यवहारिक शिक्षा प्रदान गर्ने विद्यालय भवन निर्माण सुरु गरेका थिए ।
छापस्थित कालिदेवी प्राविलाई आइतबार गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, वडा अध्यक्ष बखानसिं पाख्रिन र विद्यालय शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यकारी निर्देशक टीका भट्टराईले संयुक्तरुपमा भवन हस्तान्तरण गरेका हुन् । भवनको साँचो विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर भोक्तान र विद्यालयका प्रधानाध्यापक केशव देवकोटालाई प्रदान गरिएको हो । भवन करिब ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको विद्यालय शिक्षा नीति तथा अभ्यास केन्द्रले जानकारी दिएको छ । गाउँमै उपलब्ध काठ, बाँस, माटो, ढुंगालगायत सामग्रीसहित सिमेन्ट, फलाम, सिसा प्रयोग गरेर भवन बनाइएको छ ।
भवनको संरचनालाई काठको कलात्मक शैलीमा ढालिएको छ । बेल्जियमबाट आएका आर्किटेक्चर विद्यार्थीहरुले इट्टा पनि गाउँमै निर्माण गरेका थिए । भवन निर्माणमा बेल्जियन विद्यार्थीसँगै स्थानीयको श्रमदान परेको छ । केन्द्रका कार्यकारी निर्देशक भट्टराईका अनुसार भवन निर्माण गर्दा करिब ७ लाख रुपैयाँ गाउँका स्थानीयले श्रम गरेर कमाएको बताए । ‘हामीले भवन निर्माण भइसक्दासम्म गाउँबाट बाहिर पैसा नजाओस् भन्ने उद्देश्य राखेका थियौं । गाउँमै सबै निर्माण सामग्री नपाइए पनि सम्भव भएसम्म गाउँमै उपलब्ध सामग्री प्रयोग गरिएको छ’, भट्टराईले भने ।
तीन वटा कोठामध्ये बालबालिकालाई शैक्षिक सामग्री प्रदर्शनीसँगै कथा सुनाउने कक्ष निर्माण गरिएको छ । एउटामा गाउँमा उत्पादिन कृषि उपजबारे जानकारी दिइने र अर्को कोठामा रहनसहनसँगै वातावरण अनुकूल चुल्हो राखिएको छ । बालबालिकाले औपचारिक शिक्षासँगै व्यवहारिक शिक्षा लिनुपर्ने महत्वपूर्ण भएकाले उनीहरुलाई व्यवहारिक बनाउन यो विधि अपनाइएको भट्टराई बताउँछन् । भवनको अगाडि अभिभावकहरु आएर सामूहिकरुपमा बस्न मिल्ने गरी संरचना बनाइएको छ । भवन भूकम्प प्रतिरोधी छ । तीन वटै कोठामा घामको उज्यालो र प्राकृतिक हावा निरन्तर प्रवाह हुने गरी भवन निर्माण गरिएको छ ।
बालबालिकाहरुलाई लक्षित गरी सहजसँग बस्न मिल्ने गरी काठको कुर्सी तयार गरिएको छ भने प्रत्येक कोठामा करिब एक मिटर उचाईसम्मको बालमैत्री टेबल राखिएको छ ।
गाउँपालिका अध्यक्ष स्याङ्तानले बालबालिकालाई औपचारिक शिक्षासँगै व्यवहारि शिक्षा प्रदान गर्नु महत्वपूर्ण पक्ष रहेको बताए । उनले व्यवहारिक शिक्षाले नै विद्यार्थीको लगनशीलतामा मद्दत पुग्ने उनको भनाइ छ । व्यक्तिको आनीबानी राम्रो बनाउन शिक्षा दिनुपर्ने बताउँदै उनले फोहार विस्थापन गरेर गाउँसमाजलाई सफा र सुन्दर बनाइराख्न व्यवहारिक शिक्षा दिनुपर्ने बताए । मकवानपुरगढी–२ का वडाध्यक्ष पाख्रिनले औपचारिक र व्यवहारिक शिक्षालाई गुणस्तर बनाउनु पर्नेमा जोड दिए ।







