झाँक्रीको घरबाट ठूलो परिमाणमा गाँजा बरामद
हेटौंडा-भीमफेदी गाउँपालिका बस्ने ५४ वर्षीय सोनामसिं रुम्बाको घरबाट मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।भीमफेदी–९ खादेगाउँ बस्ने खैबा झाँक्री भन्ने रुम्बाको घरबाट प्रहरीले एकसय ३१ किलो गाँजा बरामद गरेसँगै उनलाई पनि पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी नामटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा ७ वटा बोरामा राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भएपछि घरधनी रुम्बालाई हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित झारफुक केन्द्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजासहित रुम्बालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







