झण्डै ७० वर्षअघि यसरी बोकेर उपत्यका पु¥याइन्थ्यो गाडी

साझाकुरा
२०७९ श्रावण १०, मंगलवार १०:०६

हेटौंडा-(रासस)/ झण्डै ७१–७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङहुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पांग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दंग परे ।उनी भीमफेदीबाट प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै चित्लाङ चन्द्रागिरीहुँदै भोलिपल्ट काठमाडौं पुगे । तर, उनले भरियालाई बोक्न लगाएर छोडेको गाडी काठमाडौं आइपुग्न १४ दिन लाग्यो । उनको मात्र हैन प्रायः भीमफेदीबाट बोकाएर गाडी काठमाडौं पु¥याउन सातदेखि १६ दिनसम्म लाग्थ्यो ।

मकवानपुरमा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार प्रताप विष्टले आफ्नो पुस्तक ‘छेलिएका अनुहार’ मा उल्लेख भएको प्रसंग हो यो । यो पुस्तक केही दिनअघिमात्रै हेटौंडामा विमोचन गरिएको हो । पुस्तकमा गाडि बोक्नेहरुको कथा र सिमान्तकृत चेपाङ तथा लोपन्मुख जाती वनकरियाहरुको कथा समेटिएको छ ।नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्वीटजरल्याण्डमा नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘द हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङ मार्गबारे स्पष्ट पार्दै भारतले समेत सुरुङ प्रविधि भिœयाउन नसकेको बेला नेपाल सफल भएकामा खुशी व्यक्त गरिएको छ ।

वि.सं. २०१३ सम्म नेपालमा मान्छेहरुले गाडी बोक्ने गर्थे । झण्डै ३५ वर्ष नेपालमा गाडीलाई नल कसेर बोक्ने चलन कायम रह्यो । नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलोपटक गाडी ल्याएको इतिहासकारहरु बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशम्शेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ । त्यो समयमा एउटा सानो गीतको अंश नै बनेको थियो, ‘हाम्रा राजा क्या अक्कल धारी, ल्याए मोटर
चुरेलाई भ्वाङ पारी’ ।

नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शम्शेरले जापानबाट गाडी मगाएर नेपालमै त्यसको पुनःनिर्माण र स्तरीकरण गरेको पढ्न पाइन्छ । राजा महाराजा तथा राणाहरुले क्रमशः नेपालमा गाडीहरु भिœयाएका थिए ।विदेशबाट नेपालको वीरगञ्ज, हेटौंडाहुँदै भीमफेदीसम्म मोटरबाटो बाटै गाडी लगिन्थ्यो भने भीमफेदीदेखि काठमाडौँसम्म सडक नबनेका कारण मान्छेहरुले नै बोकेर उपत्यका पु¥याउनुपथ्र्यो । त्यस्ता गाडीहरु बोक्न मकवानपुरका बलिया युवाहरुलाई प्रयोग गरिन्थ्यो ।गाडी बोक्नेहरुमध्ये कतिले त दुई छाक भातको भरमा पसिना बगाएको र कतिले भने गाडी बोकेरै प्रशस्त जग्गाजमिन समेत जोडेको उनीहरुको जीवनीबाट थाहा पाउन सकिन्छ ।

लामो समय गाडी बोकेर जीवनयापन गर्नेहरुका बारेमा खोजेर मकवानपुरका पत्रकार विष्टले पुस्तक तयार पारेका छन् । मकवानपुरमा मात्र पाइने नेपालको सबैभन्दा कम जनसंख्या भएको वनकरिया जाति, सीमान्तकृत चेपाङ जातिसहित गाडी बोकेर जीविकोपार्जन गर्नेहरुको बारेमा समेटेर लेखिएको पुस्तकमा विष्टले उनीहरुको नालीबेली नै प्रस्तुत गरेका छन् । अब गाडी बोकेको अनुभव सुनाउने कोही पनि बाँकी नरहे पनि पत्रकार विष्टले आफूले फेला पारेका चार जना भरियाको अनुभवलाई चीरकालसम्म पढ्न सकिने गरी सो पुस्तकमा समावेश गरेका छन् ।वर्षहरु बित्दै गए, त्यस्ता कथा सुनाउने पात्रहरु पनि सकिए । पहिले गाडी बोकेर काठमाडौं पु¥याइन्थ्यो भन्ने सुनेपछि २०६८ सालदेखि गाडी बोक्नेहरुको खोजी सुरु गरिएको थियो । त्यसरी खोज गर्ने क्रममा जीवितरुपमा चार जना भेटिएका थिए । उहिले गाडी बोकेका फाखेलका हिरामान बलामी, चित्लाङका धनबहादुर गोले, पुरन्डीका जुक्तबहादुर वाइबा, पुरन्डीकै हिराबहादुर घलानलगायत अब सबैको निधन भइसकेको छ । विष्टका अनुसार गाडी बोक्नेहरुमध्ये अन्तिम साक्षीको रुपमा रहेका जुक्तबहादुर वाइबाको ९३ वर्षको उमेरमा २०७५ माघ २८ गते निधन भइसकेको छ । उनलाई माघ १० गते दमले चापेर काठमाडौं लगिएको र केही कम भएपछि घर ल्याइएकामा घर पुगेको तीन दिनमै मृत्यु भएको थियो ।

उनको पुस्तकमा उल्लेख भएअनुसार त्यतिबेला गाडी बोक्न पाँच फिटभन्दा बढी अग्लो हुनुपथ्र्यो । गाडी बोक्न गाडीको आकार अनुसार १६ जना, ३२ जना र ४८ जनासम्म प्रयोग हुन्थे । त्यतिखेर ३२, ६४ र ९६ मोडलका गाडी चलनचल्तीमा थिए । बत्तीस मोडलको गाडी बोक्न दुईतिर आठ–आठ जना, ६४ को बोक्न १६–१६ जना, ९६ को बोक्न २४–२४ मानिस चाहिन्थ्यो । गाडीमा लामालामा नोल बाँधेर चार कुनामा काँध हालेर तन्नेरीहरुले ‘जोडगर हैँसा, भनभन भाइ हो देउसिरे’ भन्दै रमाइलो गर्दै गाडी बोक्ने गरिएको त्यतिखेर गाडी बोक्नेहरुले विष्टलाई सुनाएको उल्लेख छ ।

भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरीहुँदै काठमाडौंँ गाडी बोकेर पु¥याउँदा सात दिनदेखि १६ दिनसम्म लाग्ने गथ्र्यो । गाडी बोकेवापत प्रतिव्यक्तिले बढीमा ५ आनासम्म जमिन पाउँथे । भरियाहरुले भीमफेदी, कुलेखानी, चित्लाङ, थानकोटहुँदै काठमाडौंसम्म गाडी पु¥याउनुपथ्र्यो । गाडी बोक्ने र पैदल आवतजावत गर्नेहरुका लागि बाटो बाटोमा स–साना दोकानहरु थिए । ती दोकानहरुमा मकै र कोदोको जाँड तथा ढिँडो खान पाइन्थ्यो । पैदल हिँड्ने बाटोभन्दा गाडी बोकाएर लाने बाटो भिन्नाभिन्नै हुन्थ्यो । गाडी बोक्न अलि फराकिलो बाटो चाहिन्थ्यो । त्यतिखेर गाडी बोक्न प्रयोग हुने बाटो अहिले पनि देख्न सकिन्छ ।

विष्टले पुस्तकमा तत्कालीन अवस्थामा जीवित रहेका तर, हाल मृत्यु भइसकेका थुप्रै व्यक्तिसँगको कुराकानीमा आधारित भनाइहरु प्रस्तुत गरेका छन् । गाडी बोक्नेको समाजमा अलग्गै प्रतिष्ठा रहने गरेको विष्टको पुस्तकबाट थाहा हुन्छ । वि.सं. २०१३ सम्म गाडी बोक्ने काम गरेका कुलेखानीका हिरामान बलामी गाडी बोक्ने भएरै धेरैका नजर परेका रहेछन् । गाडी बोकेको देखेर नै मनकुमारी बलामीले हिरामानसँग हत्ते गरेर विवाह गरेकी रहिछन् । हिरामानले मनकुमारी सहित तीन जनासँग विवाह गरेका रहेछन् । गाडी बोके पनि हिरामानले गाडी चढेका रहेनछन् ।

गाडी बोक्न छाडेदेखि काठमाडौंं नगएका हिरामानको केहीवर्ष अघि निधन भइसकेको छ । गाडी बोक्नेहरु विशेषगरी भीमफेदी, मार्खु, तसर, कुलेखानी र चित्लाङ क्षेत्रका हुन्थे । गाउँका अग्ला र बलिया युवा देखेपछि नाइकेहरुले गाडी बोक्न लैजान्थे । गाडी बोक्ने काम पाएका युवकहरुसँग केटीहरु पनि विवाह गर्न हुरुक्क हुन्थे रे । लामो समय गाडी बोक्ने काम गरेका हिराबहादुर घलानलाई उदृत गर्दै विष्टले लेखेका छन्, ‘गाडी बोक्नुभन्दा अघि मेरो विवाह भएको थिएन । गाडी बोक्न थालेपछि गाउँमा केटीहरुले मसँग विवाह गर्न तँछाडमछाड गरे । तर, मैले एउटामात्र बिहे गरेँ, अरुले त २–३ वटी नै गरे ।,’ गाडी बोक्ने भरियाले केहीले सुरुवाल केहीले कट्टु त केहीले लँगौटी लगाउँथे । उनीहरु सबैले खुट्टामा भने परालको चप्पल लगाउँथे । एकपटक काठमाडौँसम्म पुग्दा भरियाहरुको चार जोरसम्म चप्पल फाट्थ्यो । चप्पल फाटेपछि राति बास बस्ने ठाउँमा आफै परालको चप्पल बुन्थे ।

विष्टका अनुसार त्यसबेला गाडी बोक्ने भरियाहरुका कथा चाखलाग्दा छन् । लाहुरे बाहरुले सुनाउने लडाइँका कहानी जस्तै । तर, वर्षहरु बित्दै गए, त्यस्ता कथा सुनाउने पात्रहरु पनि सकिए । उहिले गाडी बोकेका फाखेलका हिरामान बलामी, चित्लाङका धनबहादुर गोले, पुरन्डीका जुक्तबहादुर वाइबा, पुरन्डीकै हीराबहादुर घलानलगायत सबैको निधन भइसकेको छ ।एसियाकै पहिलो सुरुङ मार्गबाट ल्याइन्थ्यो गाडीसुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ । तर, यो कुरा सत्य हो, नेपालमा आजभन्दा १०६ वर्ष अगाडि सुरुङमार्ग बनेको थियो र त्यस सुरुङमार्गबाट गाडीहरु गुडाएर हेटौंडा प्रवेश गराइन्थ्यो ।

ती गाडी मोटरबाटो हुँदै भीमफेदीसम्म पुग्थे । हालको बागमती प्रदेशको राजधानी हेटौंडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ निर्माण गरिएको थियो । दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङलाई चुरियामाई सुरुङ भन्ने गरिन्छ । राजा त्रिभुवन तथा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरको पालामा नेपाली सेनाका इञ्जिनीयर डिल्लीजंग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधिको प्रयोग गरेर खनिएको थियो । करिब ५०० मिटर रहेको सुरुङको एकापट्टिको भाग पुरिएपछि हाल मार्गको करिब २८० मिटरमात्र बाँकी रहेको छ ।

तत्कालीन समयमा चुरेको पहाड छेडेर तराईलाई काठमाडौँसम्म जोड्नु महत्वपूर्ण थियो । वि.सं. १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको अड्कल काट्न सकिन्छ ।भीमफेदीबाट काठमाडौं जाने मोटरबाटो नभए पनि साना गाडी राजा तथा राणाहरुले बोकाएरै काठमाडौं लैजान लगाउने गरेका थिए । अमलेखगञ्ज– भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरे खण्डमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने भएपछि तत्कालीन सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् ।हाल पुनःनिर्माणको क्रममा रहेको सुरुङमार्ग पुनः निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने जनाइएको छ । प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूलाठूला सवारी साधनहरु भित्रिए, त्यो सुरुङ सानो भयो ।त्यसक्रममा सुरुङमार्गको छेउको एक खण्डमा विष्फोट गराएर भत्काइयो र त्यहीँ सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो । सडकछेउमा देखिएका सुरुङको मुख थुनियो ।बारा जिल्ला तर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो । त्यो समयमा बाराको अमलेखगन्जसम्म रेल चल्ने गरेको पूर्व मुख्यमन्त्री डोरमणि पौडेल स्मरण गर्छन् । रेल पछिसम्म चले पनि सुरुङमार्ग भने बन्द भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*