सञ्जीवनीद्वारा स्थानीय तहमा निर्वाचित शेयर सदस्यलाई सम्मान
हेटौंडा- सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाले स्थानीय तहमा निर्वाचित शेयर सदस्यलाई सम्मान गरेको छ । हेटौंडा–५, पिप्लेस्थित सहकारी संस्थाको २२ औं स्थापना दिवसको अवसरमा सहकारीले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासहित स्थानीय तहमा निर्वाचित शेयर सदस्यलाई सम्मान गरेको हो ।
सोमबार बिहान सहकारीको कार्यालय परिसरमै एक कार्यक्रमका बीच नगरप्रमुख लामासहित ५ नम्बर वडा अध्यक्ष सुशिल घिमिरे, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडा सदस्यहरु ज्ञानु थापा मगर, रामबहादुर राई, रञ्जिता सिलवाल र ८ नम्बर वडा सदस्य मञ्जु भुर्तेललाई सम्मान गरेको हो ।
सहकारीकी अध्यक्ष जानुका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका व्यवस्थापक प्रकाश खनालले सहकारीको वस्तुस्थितिबारे जानकारी गराएका थिए । सहकारीका व्यवस्थापक प्रकाश खनालले सहकारीको शेयर सदस्य ३ हजार २ सय ५९ जना रहेको जानकारी दिए । ३ करोड २१ लाख सेयर पूँजी रहेको सहकारीको बचत २२ करोड ४९ लाख रुपैयाँ रहेको छ भने ऋण लगानी २४ करोड २ लाख रुपैयाँ रहेको छ । सहकारीबाट ५ सय ५९ जनाले ऋण लिएको पनि व्यवस्थापक खनालले बताए ।
कार्यक्रममा बोल्दै मेयर लामाले नगरमा रहेका सहकारीको व्यवस्थापनका लागि काम गरिरहेको बताइन् । लामाले कार्यालय बिना सहकारी सञ्चालन गर्ने र सेवाग्राहिले जम्मा गरेको रकमको सुरक्षा नहुँने जस्ता समस्या समाधानका लागि उपमहानगरले अनुगमन गरिरहेको बताइन् ।
उनले व्यवस्थित ढंगबाट सञ्चालनमा रहेको सहकारी प्रगतीको बाटो उन्मुख रहेको बताउँदै यहाँ महिलाहरुले सञ्चालन गरेको सहकारीले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चामा रहने गरी उत्पादनमा जोडिएको बताइन् । उनले भनिन् ‘अब सहकारीले ऋण लगानीमात्र होइन उत्पादनमा जोडिने गरी काम गर्न जरुरी छ ।’
अहिले महिलामाथि सम्पत्तिको अधिकार नहुँदा ऋणको भारीमात्र बोक्नु पर्ने र पारिवारिक समस्यामा पर्ने गरेको उनले बताइन् । अब समूहमा बसेर ऋण लिनमात्र होइन सम्पत्तिमाथि अधिकार दिलाउने काममा लाग्न जरुरी रहेको उनको भनाइ थियो ।
नगरप्रमुख लामाले ऋण मात्र लगानी गर्नेभन्दा पनि रोजगारी दिने काममा पनि जोडिन आवश्यक रहेको बताइन् । उनले सहकारी आर्थिक कारोबारमा मात्र केन्द्रित रहेको भन्दै अब सामाजिक काममा पनि जोडिन जरुरी रहेको औंल्याइन् । उनले भनिन– ‘टोल, गाउँ सफा बनाउने अभियानमा उपमहानगर लागेको छ अब सहकारीमा आवद्ध सबै लाग्न जरुरी रहेको बताइन् ।







