प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
हेटौंडा- बागमती प्रदेशको प्रदेश युवा परिषद्ले अन्तरपुस्ता ऐक्यबद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने भएको छ ।सोमबार अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा सरोकारवालाहरु बीच छलफल भएको थियो । सोमबार बसेको अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह तयारी बैठकले विगतका वर्षहरुमा जस्तै यही साउन २७ गतेका दिन युवाका क्षेत्रमा कार्यरत् व्यक्ति, संस्था र सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ मनाउने निर्णय गरेको हो ।
प्रदेशका युवा तथा खेलकुद मन्त्री एवम् प्रदेश युवा परिषद्का अध्यक्ष रत्नप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले युवा दिवस मनाउनका लागि १०१ सदस्य मूल समारोह समिति गठन गरेको छ । बैठकले सप्ताहव्यापी यो दिवस मनाउने निर्णय गरेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । बैठकले वृक्षारोपण, प्रभातफेरी कार्यक्रम, रक्तदान, खुल्ला साइक्लिङ, पदयात्रा, सरसफाई, अन्तक्र्रियालगायतका कार्यक्रम गर्ने निर्णय गरेको चौलागाईंले बताए ।
मन्त्री ढकालको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा प्रदेश युवा परिषद्का पदाधिकारी तथा सदस्यरु, जिल्ला युवा समितिका अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।







