निर्माणाधीन भ्युटावर क्षेत्रका रुख काटेपछि हेटौंडाका ७ जनाविरुद्ध वनमुद्दा

साझाकुरा
२०७९ श्रावण ११, बुधबार ०९:४३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१४ ड्राइभरडाँडाका स्थानीयको आयआर्जन कृषि तथा पशुपालनसँग जोडिएको छ । अधिकांश स्थानीय कृषि र पशुपालनसँगै रोजगारीमा छन् ।आफ्नो कर्म गरेर जीवनयापन गरिरहेका स्थानीयले २०७४ सालको निर्वाचनपछि नयाँ जनप्रतिनिधि पाए । जनप्रतिनिधिहरु कुर्सीमा बसेसँगै नयाँ योजनाको खोजीमा थिए । देशभरका स्थानीय तहले भ्युटावर बनाउने योजनालाई प्राथमिकता दिए जस्तै हेटौंडाका तत्कालीन जनप्रतिनिधिहरुले पनि १४ नम्बर वडाको ड्राइभरडाँडाको अग्लो भू–भागमा भ्युटावर बनाउने योजना अघि सारे । ड्राइभरडाँडाबाट बारा र मकवानपुरतर्फका भू–भाग सजिलै देख्न सकिने भएपछि यहाँ पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भावनाबारे स्थानीयलाई सम्झाइबुझाई गरे ।

स्थानीयले पनि भ्युटावर बन्ने भएपछि आफ्नो गाउँमा आन्तरिक पर्यटक आउने र आयआर्जनका नयाँ बाटोहरु खोलिनुले सहजै स्वीकार्नु स्वभाविकै हो । तर, त्यही भ्युटावरका कारण अहिले ड्राइभरडाँडाका ७ जनाविरुद्ध वनमुद्दा चलेको छ । जसमध्ये ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन् । आधा दर्जन बढी निकुञ्जको अनुसन्धान घेराभित्र छन् ।

उपमहानगरपालिकाले उनीहरुलाई भ्युटावर निर्माणसँगै स्थानीयस्तरमै होमस्टे सञ्चालन गरेर थप आयआर्जनमा जोड्न सक्नेबारे तालिम नै दियो । ड्राइभरडाँडाका कतिपयलाई पर्यटकीय क्षेत्र घान्द्रुक लगेर होमस्टे सञ्चालन सम्बन्धी जानकारी दिने कार्यमा उपमहानगरपनि लाग्यो ।
उपमहानगरले आर्थिक वर्ष २०७७÷०७८ मा होमस्टे सञ्चालन उद्देश्यले भ्रमणका लागि ५ लाख खर्चसमेत गरेको छ । ड्राइभरडाँडा पर्यटकीय क्षेत्रको सम्भावना बोकेको क्षेत्र हो ।तर, जनप्रतिनिधिहरुले पर्यटक आउने र आर्थिक हैसियत माथि उठ्ने आश्वासन दिँदादिँदै स्थानीयले हिरासतको हावा खानु परेको छ । यतिबेला ड्राइभरडाँडाका स्थानीय त्रासमा छन् ।

ड्राइभरडाँडामा बन्दै गरेको भ्युटावर नजिक रुख कटान गरेको आरोपमा थप कतिजना पक्राउ पर्ने हुन भन्ने त्रासले स्थानीय पीडित छन् । पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये २ जना घर फर्किएका छन् । उनीहरु ७० वर्षमाथि उमेरका ज्येष्ठ नागरिक भएकाले निकुञ्जले आवश्यक परेको अवस्थामा हाजिर गराउने जमानीमा छोडेको छ । बाँकी ५ जनालाई निकुञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

वन समितिसँग जोडिएका अन्य स्थानीयलाई पनि निकुञ्जले अनुसन्धानको घोरामा राखेको छ । निकुञ्जका सहायक वार्डेन सूचना अधिकारी सन्तोष भगतले ड्राइभरडाँडास्थित निर्माणधीन भ्युटावर नजिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले रुख काटिएको आशंकामा ७ जनाविरुद्ध वनमुद्दा चलाएको जानकारी दिए । उनका अनुसार आरोपितमाथि १५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको हो ।

हरियाली मध्यवर्ती सामुदायिक वन समिति पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । वन क्षेत्रमै १४ नम्बर वडा कार्यालयले भ्युटावर निर्माण गरिरहेको हो । भ्युटावरमा आर्थिक वर्ष २०७६–०७७ मा ९ लाख ८९ हजार खर्च भएको छ ।आव २०७७–०७८ मा पनि ९ लाख ८९ हजार नै खर्च भएको जनाइएको छ । भ्युटावर निर्माण भने भइसकेको छैन् ।
भ्युटावरको जग निर्माण गरेर भ¥याङसहित पिल्लर ठड्याइएको छ । निकुञ्जका सहायक वार्डेन भगतका अनुसार रुख काट्नुको कारण खुलिसकेको छैन । ‘भ्यूटावर बनिरहेकाले जग्गा अतिक्रमण गर्ने उद्देश्य काटिएको आशंका छ । अनुसन्धानकै क्रममा भएकाले ठ्याक्कै कारण नखुलेको हो’, भगतले साझाकुरासँग भने ।
चुरियामाई उपभोक्ता समिति अध्यक्ष मिनबहादुर घलानले स्थानीयले नियतबस रुख नकाटेको बताएका छन् । घलानलाई पनि निकुञ्जले दिनभर नियन्त्रणमा लिएर साँझ छोडेको थियो । उनको मोबाइल फोनसमेत निकुञ्जकै नियन्त्रणमा छ ।

चुरियामाई उपभोक्ता समितिअन्तर्गत् हरियाली मध्यवर्ती सामुदायिक वनसहित चार वटा वन समिति छन् । हरियाली वनका पूर्वसचिवसमेत रहेका घलानले भ्यूटावर निर्माण समितिका स्थानीयलाई निकुञ्जबाट अनुमति पाएरमात्रै बनाउनु पर्छ भनेर आफूले सुझाव दिँदै आएको र स्थानीयले अञ्जानमै रुख काटेको उनको भनाइ छ । भ्यूटावर निर्माण हुँदापनि निकुञ्जसँग दुई पटक आदेश लिएको घलानले बताए ।

भ्युटावरनजिक सुरुमा एक जनाले लाथ्रा काटेपछि अरुले पनि काटेको घलानको भनाइ छ । उनले रुख काट्ने घटनामा आफू संलग्न नभएको बताए । सहायक वार्डेन भगतले साना–ठूला गरी करिब १ सय वटा रुख काटिएको जानकारी दिएका छन् । १४ नम्बरका वडा अध्यक्ष दीपक खड्काले भने टुक्रा र साना हाँगा काटेको दाबी गरेका छन् । उनले ठूला रुख नकाटेको तर, दाउराका लागि भने काटिएको बताए ।उनले घटनाको सम्बन्धमा थप कुरा गर्न चाहेनन् । स्थानीय तहको अघिल्लो कार्यकालमा पनि उनै खड्का वडा अध्यक्ष थिए । भ्युटावरको विषयमा सबै जानकारी हुन नसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*