नगर विकास कोषमा मेयर लामाले लिइन् सपथ

साझाकुरा
२०७९ श्रावण ११, बुधबार १०:०९

हेटौंडा-काठमाडौंमा बसेको नगर विकास कोषको पहिलो बैठकमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सपथ लिएकी छन् । मंगलबार नगर विकास कोष सञ्चालक समितिको २०३ औं बैठक बसेको थियो । मेयर लामा कोषको सञ्चालकमध्ये एक हुन् । सहरहरुलाई सुन्दर र सफा बनाउने योजनासहित करिब ३ दशकअघि परिकल्पना गरिएको नगर विकास कोष आफ्नै हिसाबले काम गरिरहेको छ । मुलुक संघीयतामा गएपछि स्थानीय तहहरु स्वायत्त र बलिया भएका छन् । नगर विकास कोष भने आफ्नै शैलीमा काम गरिरहेको छ । २०४५ फागुन २ गते नगर विकास कोष स्थापना भएको हो । पहिले समितिको रुपमा स्थापना भएकोमा २०५३ सालमा नगर विकास कोष ऐनद्वारा स्वायत्त संस्था नगर विकास कोषको रुप दिइयो ।

कोषका सञ्चालकहरुमा पोखराका मेयर धनराज आचार्य, हेटौंडाकी मेयर लामा, सूर्योदय नगर इलामका मेयर रणबहादुर राई, लमही नगर दाङका मेयर जोगराज चौधरी, बौधीमाई नगर रौतहटका मेयर प्रदीपकुमार यादब, लम्कीचुहा नगर कैलालीकी मेयर सुशीला शाहीलगायत १४ जना छन् । बैठकमा कोषका सञ्चालक समितिका सदस्यहरुको स्वागत तथा सपथग्रहण र निवर्तमान सदस्यहरुको बिदाइ गरिएको थियो । कोषको आव २०७९÷०८० को नीत, कार्यक्रम तथा तयारी उपसमिति गठन गरिएको छ । सन् १९८९ मा विश्व बैंकको २.२ मिलियन अमेरिकी डलर सहयोग प्राप्तिस“गै नगर विकास कोषले सहरी पूर्वाधार विकासमा वित्तीय लगानी प्रवाह गर्न थालेको हो ।

नगर विकास कार्यक्रमका लागि १९९५ मा जर्मन विकास बैंकमार्फत् प्राप्त ४.५ मिलियन युरो सहयोग ३२ नगरपालिकाको पूर्वाधार विकासमा खर्च गरिएको थियो । प्रथम चरणको कार्यान्वयन सफल भएस“गै जर्मन विकास बैंकमार्फत् कोषलार्ई सहयोग निरन्तर भएको हो । सन् २००० मा नगर विकास कार्यक्रमको दोस्रो र २०१० मा तेस्रो चरणको योजना सञ्चालन भएको थियो । विश्व बैंक, एसियाली विकास बैंक (एडीबी)लगायत दातृ निकायको सहयोग लिएर काम गर्दै आएको कोषले नगरपालिका क्षेत्रमा बसपार्क, उद्यान, व्यवस्थित बजार, प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवनलगायत १ हजार २ सयभन्दा बढी आयोजना लगानी गरेको छ ।
कोषले नेपाल सरकार, विश्व बैंक, एडीबी, जर्मन विकास बैंक, जीआईजेड, युएनसीडीएफ, ईयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तीय तथा प्राविधिक सहयोग परिचालन गरिरहेको छ ।

कोषले हालसम्म सहरी पूर्वाधारका रुपमा बसपार्क, व्यावसायिक भवन, नगरपालिका भवन, स्कुल भवन, मनोरञ्जन पार्क, फोहरमैला व्यवस्थापन, ढल व्यवस्थापनलगायत आयोजनामा ९ अर्ब ६१ करोड ऋण तथा २ अर्ब २९ करोड अनुदान लगानी गरिसकेको छ । नगर विकास कोष भनेको नगरपालिकाहरुको प्राविधिक र आर्थिक सल्लाहकार हो । नगरपालिकाहरुको पूर्वाधार विकासमा वित्तीय लगानीका लागि कोष आर्थिक र प्राविधिकरुपमा सक्षम छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*