स्थानीय दररेट कायम गर्न निर्माण व्यवसायीको माग
हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा रहेका निर्माण व्यवसायीहरुले स्थानीय दररेट कायम गर्न पालिकाको ध्यानाकर्षण गराएका छन् । मकवानपुर निर्माण व्यवसायी संघ थाहा नगर समितिले बुधवार नगर प्रमुख विष्णुबहादुर विष्टलाई स्थानीय दररेट कायम गर्न माग गरेका हुन् । उनीहरुले निर्माण सम्बन्धि ठेक्कामा दररेट पुनविचार गरी स्थानीय दररेट कायम गर्न माग गरेका हुन् । चालु आर्थिक वर्ष २०७९÷०८० को जिल्ला दररेट जारी भैसकेको र गतबर्षको तुलनामा दररेटमा थोरै वृद्धि भएतापनि थाहा नगरपालिकाको भौगोलिक विकटता, स्थानीय क्षेत्रमा निर्माण सामग्रीको पर्याप्त मात्रामा उपलब्ध नहुनु, महंगी तथा नगरको सबै वडामा एउटै दररेट कायम हुनुले निर्माण व्यवसायी तथा उपभोक्ता समिति अत्यन्त मारमा परेको गुनासो गरिएको छ ।
थाहामा निर्माण सामग्री बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको र जिल्ला दररेटले हालको महंगी अनुसार निर्माण सामग्री र कामदार धान्न नसकिने भएको भन्दै निर्माण व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन् ।नगरपालिकाले पनि स्थानीय दररेट निर्धारण गरी निर्माण कार्यलाई सहज बनाउन आग्रह गरिएको छ । नगर प्रमुख विष्टले समस्या बारे जानकारी भएको बताउँदै अन्य पालिकाको अभ्यास र कानुन अध्ययन पश्चात समस्या समाधानमा भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले विकास निर्माणका कार्य
रोकिँदा असर पुग्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।







