वाचामा कटिबद्ध बन्दै मेयर लामाः निःशुल्क खानेपानी उपलब्ध गराइने
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले निर्वाचनमा नगरबासीसँग गरेको वाचा पूरा गर्ने कार्यलाई प्राथमिकता दिएकी छन् । निर्वाचनमा होमिएपछि लामाले नगरबासीलाई खानेपानी निःशुल्क उपलब्ध गराउने वाचा गरेकी थिइन् । गठबन्धनबाट निर्वाचन लड्दै हेटौंडाको पहिलो महिला मेयरका रुपमा इतिहास बनाएकी नेकपा (एकीकृत समाजवादी) जिल्ला उपाध्यक्षसमेत रहेकी लामाले बिहीवार नगरबासीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय गरेकी हुन् ।
उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको लामाले साझाकुरालाई जानकारी दिएकी छन् । मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय भएको मेयर लामाले जानकारी दिइन् ।उपमहानगर र खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । उक्त निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरुमा मात्र लागू हुनेछ । जसअनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुने मेयर लामाले बताइन् ।
लामाले बोर्ड पदाधिकारीसँग यसअघि खानेपानी निःशुल्क गर्ने सम्बन्धमा पटक–पटक छलफल गरेकी थिइन् । बिहीवारको बैठकमा बोर्ड पदाधिकारीसहित मेयर लामा, उपमेयर राजेश बानियाँ, उपमहानगरका प्रवक्ता सविन न्यौपाने र अधिकांश वडाका वडाध्यक्षसहित उपस्थिति थिए ।उपमहानगरको निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णयबाट १ लाख ४५ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । निःशुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २
करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
हाल उपभोक्ता समितिमार्फत खानेपानी उपभोग गर्दै आएका नगरबासीले भने उपमहानगरको सुविधा पाउने छैनन् ।कार्यालयका अनुसार उपभोक्ता समितिमार्फत खानेपानी प्रयोग गरिएको हकमा निकट भविष्यमा विशेष निर्णय गरिने मेयर लामाले जनाउकी छन् ।







