विद्यार्थी र युवा उद्यमीलाई लक्षित गरी ‘बिजनेस इन्क्युबेशन सेन्टर’
हेटौंडा- व्यापार, व्यवसाय गर्ने सोच बनाएका विद्यार्थी र समुदायमा भर्खरै व्यवसायी सुरु गरेका युवा उद्यमीहरुलाई लक्षित गरी हेटौंडामा ‘बिजनेस इन्क्युबेशन सेन्टर’ सञ्चालनको तयारीमा छ ।हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले स्नातक र स्नातकोत्तर अध्ययनरत् युवा विद्यार्थीहरुलाई व्यापार र व्यवसायमा सफल बनाउने उद्देश्यले बिजनेस इन्क्युबेशन सेन्टर सञ्चालन गर्न लागेको हो ।सेन्टरको आइतबार उद्घाटन गरिने भएको छ । म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरुलाई समयसापेक्ष व्यवहारिक सीप दिलाउने तथा उनीहरुको आन्तरिक क्षमता अभिवृद्धिका लागि सेन्टर सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।
युवाहरुलाई व्यापार र व्यवसायमा सफल बनाउन नयाँ योजनासहित उत्प्ररेणा जगाउने उद्देश्यले बिजनेस इन्क्युशेन सेन्टरहरु देशका अन्य सहरहरुमा सञ्चालित छन् । हेटौंडामा पनि युवाहरुलाई सफल व्यवसायी बनाउने उपाय सेन्टरले दिने जनाइएको छ । विद्यार्थीहरु र समुदायका नव व्यावसायीहरुलाई भविष्यमा एक सफल व्यावसायी तथा उद्यमी बनाउन विशेष तालिम दिइने म्यानेजमेन्टका निर्देशक दिपेश जोशीले जानकारी दिए ।तर, सेन्टरमा व्यवसाय र उद्यमी बन्ने चाहना बोकेर योजना भएका र जोखिम मोल्न सक्ने क्षमताका युवाहरुलाई मात्रै प्राथमिकता दिइने बताइएको छ । सेन्टरले व्यवसायिक आविष्कारहरुलाई पोषण गर्न केन्द्रित हुने जोशी बताउँछन् ।
सेन्टरमा १० महिनादेखि १ वर्षसम्मका कार्यक्रमहरु रहने जोशीले बताए । उनका अनुसार व्यवसायका योजना बोकेका युवाहरुलाई सुरुवाती लगानी गर्नेसम्मको सहयोग सेन्टरले गर्न सक्नेछ ।‘इन्क्युबेसन कार्यक्रममा बिद्यार्थी तथा नयाँ उद्यमीहरुमा उद्यमशिलता मानसिकता विकास गर्ने एउटा उद्यमशिल मन्च पनि हो । यसमा स्थापित व्यापारघरहरु, स्नातक र स्नाकोत्तर स्तरका विद्यार्थीहरु, व्यावसायिक विचारहरु उत्पन्न गर्दै आफ्नो व्यवसायलाई बलियो बनाउन र विस्तार गर्नका लागि थप सहज हुनेछ ।,’ जोशीले भने । विद्यार्थीसँग भएको नवीनतम सीपलाई नवव्यवसायीको रुपमा अगाडि बढाउँदै समाजमा स्थापित गर्न सहयोग गर्ने उद्देश्यले यस कार्य अगाडि बढाइएको उनले बताए ।
‘विद्यार्थीहरुमा भएको बिजनेस योजनालाई कसरी सार्थक बनाउन सकिन्छ भनेर आवश्यक परामर्श दिन्छौं । उनीहरुसँग भएको योजनालाई नवव्यवसायीबाट उद्योगीसम्म बनाउन हामी पुलको रुपमा काम गर्नेछौं ।,’ जोशीले सुनाए ।
म्यानेजमेन्टले आइतबारबाट विद्यार्थीलाई पहिलो चरणको कार्यशाला (तालिम) समेत दिने भएको छ । अन्तर प्रेरणा संस्थासँगको सहकार्यमा सेन्टर सञ्चालन गर्न लागिएको हो । विद्यार्थी आगामी पाँच दिन बिजनेस इन्कुबेशनका विज्ञ तथा डच नागरिक ह्यांकले प्रशिक्षण दिनेछन् ।इक्क्युबेशन सेन्टरले कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण र विकास, मेन्टरशिप, नेटवर्किङ, सहकार्य गर्ने ठाउँ, बीजकोष र लगानीकर्ताहरुको पहुँचको सुविधा प्रदान गर्ने कार्यक्रमका संयोजक आयुष बम्जनले जानकारी दिए ।







