आफ्नै पैसाबाट विपन्नको स्वास्थ्य बिमा गरिदिने वडाध्यक्ष
हेटौंडा- जनप्रतिनिधि भएपछि प्राप्त गर्ने तलब÷भत्ता आफ्नै हुन्छ । कतिपय जनप्रतिनिधिले तलब÷भत्तालाई आफ्नै दैनिकी खर्चमा प्रयोग गर्छन । तर, मकवानपुरको एक वडा अध्यक्षले तलब÷भत्ताको रकम आफूलाई जनप्रतिनिधि बनाउन मतदान गर्ने स्थानीयकै लागि खर्च गरेकी छन् । जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–५ की वडा अध्यक्ष लक्ष्मी जिम्बाले स्थानीय २० जना विपन्नलाई स्वास्थ्य बिमा गरेकी छन् । आर्थिक अवस्था कमजोर भएका २० जना परिवारलाई उनले आफ्नै पैसाबाट स्वास्थ्य बिमा गरिदिएकी हुन् । जिम्बाले चुनावी अभियानको क्रममै वडा अध्यक्ष जितेमा कुनैपनि सेवा सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेकी थिइन् ।
उनले वडाभित्रका २० परिवारको स्वास्थ्य बिमा गरेर आफ्नो अभियानको सुरुवात गरेकी हुन् । वडा भित्रका अपाङ, एकल महिला तथा विपन्न गरी पहिलो चरणमा २० घर परिवारको स्वास्थ्य बिमा गरिएको उनले बताइन् । ‘पहिलो चरणमा २० जनाको स्वास्थ्य बिमा गरिएको छ । आगामी दिनमा थप परिवारको पनि बिमा गर्छु’, जिम्बाले भनिन् । चुनावको समयमा वडाबासीसँग गरेको प्रतिबद्धतालाई आत्मसाथ गरेको वडा अध्यक्ष जिम्बाको भनाइ छ । ‘वडा अध्यक्षमा निर्वाचित भएपछिको अवधिमा पाउने सेवासुविधाको रकम र व्यक्तिगत केही रकम थपेर वडाका २० घर परिवारको स्वास्थ्य बीमा गराएको हुँ’, उनले भनिन् ।
करिब ७० हजार रुपैयाँ बराबरको लगानीमा स्वास्थ्य बीमा गरिदिएको वडा अध्यक्ष जिम्बाले बताइन् । यस अभियानलाई आफू जनप्रतिनिधि रहेसम्म निरन्तरता दिने उनले बताइन् । उनले निर्वाचनको समयमा आफूले पाउने सेवासुविधा एकल र विपन्न महिला तथा विपन्न परिवारका विद्यार्थीको शिक्षामा खर्च गर्ने बताएकी छन् । कार्यक्रममा वडा सचिव पुजन न्यौपाने, वडा सदस्यहरु ज्ञानीमाया विश्वकर्मा, सोमबहादुर माझी, अमृत थिङ, राजदमार आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज सम्झना राना मगर, नेपाली कांग्रेस बकैया सचिव सुनिल दर्लामी, बिमा कर्ता तथा कर्मप्राप्ति माविका शिक्षक मदन दाहाललगायतको उपस्थिति थियो ।







