एक तिहाई सिटमा महिलालाई उम्मेदवार बनाइनुपर्छः डीना
हेटौंडा- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले आगामी निर्वाचनमा एक तिहाई सिटमा महिलाहरुलाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् ।
सहमहामन्त्री डीनाले महिलाप्रति राजनीतिक दलहरुमा पुरानै दृष्टिकोण रहेको आरोप लगाउँदै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धेरै महिलालाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिइन् । काठमाडौंमा शनिबार आयोजित नेपाली कांग्रेसका महिला नेताहरुको भेलामा बोल्दै नेतृ डीनाले निर्वाचनमा महिलाहरु अग्र भागमा रहने बताइन् ।
विगतमा निर्वाचनमा सहभागी हुन डराउने गरेका महिलाहरुको अवस्था वर्तमानमा त्यस्तो नभएको भन्दै मुलुकको विकास र समृद्धिमा महिलाहरुको चासो बढेसँगै निर्वाचनमा बढी प्राथमिकता दिनुपर्ने बताइन् । डीना, कांग्रेस मकवानपुरकी सर्वश्रेष्ठ महिला नेता हुन् ।
मवानपुरबाट यसअघि पार्टीको केन्द्रीय कमिटीको पदाधिकारीमा कोही निर्वाचित भएका थिएनन् । ‘महिलाहरु पहिलाको जस्तो चुनावमा जान डराउने अवस्थामा छैनन् । आगामी निर्वाचनमा धेरै महिलाहरु निर्वाचन लड्ने क्षमता लिएर अघि बढिरहनु भएको छ । दलहरुले पनि महिलाप्रति गर्ने पुरानो सोचलाई हटाउनु पर्छ’, डीनाले भनिन् । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा एक तिहाई सिटमा महिलालाई उम्मेदवार बनाउनुपर्छ’, डीनाले थपिन् । ‘टिकट दिने संसदीय समितिले हो । संसदीय समिति ठूलो छ, समितिमा म एक्लो महिला छु । मैले एक्लै भनेर महिलालाई टिकट दिलाउन सक्ने अवस्था छैन ।
तर, अब सबै महिला एकजुट हुन आवश्यक छ । हामी सबैले प्रत्यक्षतर्फ पनि चुनाव लड्न सक्छौं भनेर हिम्मत गर्नुपर्छ’, डीनाले भनिन् । उनले नेपालमा संविधान र कानुनले लेखेपछि मात्रै महिलाले अधिकार पाउने अवस्था रहेको भन्दै गुनासो गरिन् । उनले संविधानमा लेखेको अधिकार पनि नपाइने भन्दै नलेखेको विषयमा झन् नपाइने भन्दै चिन्ता व्यक्त गरिन् ।







