जिल्लाको चौथो बालमैत्री गाउँपालिका बन्ने तयारीमा कैलाश
हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी गरिएको छ ।कैलाशले आफूलाई मकवानपुर जिल्लाको चौथो बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी गरेको हो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले आगामी मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।उनले गाउँपालिकालाई बालमैत्री घोषणा गर्न पुरा गर्नुपर्ने सुचकहरुअन्तर्गत रहेर काम भइरहेको बताए । यसअघि मकवानपुरको तीनवटा गाउँपालिका बालमैत्री घोषणा भइसकेको छ । जिल्लाको मनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषित भएको थियो भने बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका पनि बालमैत्री घोषित भइसकेको अवस्था छ ।
कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धि वडा–वडामा छलफल भइरहेको बताए । यसका लागि १० जना वडास्तरीय र १ जना पालिकास्तरीय स्वयंसेवकले सम्बन्धित वडाहरुमा काम गरिरहेको उनले जानकारी दिए । पालिकाले बालमैत्री घोषणाको तयारी अन्तर्गत गएको साउन १० गते शिर्षक सरलीकरण र आचारसंहिता निर्माण कार्यक्रम सम्पन्न गरेको थियो ।यसैगरी, असार १३ र १४ गते पालिकास्तरीय बालमैत्री स्थानीय शासन रणनैतिक योजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । कैलाश गाउँपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री घोषणा भएको गाउँपालिका हुनेछ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल
संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक तोकिएका छन् ।दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराईएको हुनुपर्ने, एक वर्षभित्रका प्रत्येक बालबालिकाले नेपाल सरकारले तोकेका सबै र पूर्ण खोप प्राप्त गरी पूर्ण खोपयुक्त घोषणा भएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ वर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पुरा गरेको हुनुपर्ने, गाउँपालिका र नगरपालिकामा कम्तिमा एक बाल उद्यानसहितको बालमैत्री सिकाई स्रोत केन्द्र सञ्चालनमा रहेको हुनुपर्ने लगायतका बालबालिकाको अधिकारसँग सम्बन्धित विषयहरु सूचकको रुपमा रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रर्बद्धक गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ र नगरपालिकाको वडालाई दिएको छ । यही व्यवस्था बमोजिम अबको तीन महिनाभित्रमा वडा नम्वर २ र ३ लाई बालमैत्री वडा घोषणा गरिनेछ भने बाँकी वडाहरु पालिका घोषणा भएकै दिनमा बालमैत्री घोषणा गरिने पालिकाको तयारी छ ।हेटौंडा उपमहानगरपालिकाले पनि उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने बताउदै आएको थियो । तर,पछिल्लो समय उपमहानगरमा भने बालमैत्री घोषणा गर्नको लागि कुनै तयारी भएको देखिदैन ।







