हेटौंडा अस्पतालमा बन्यो सुविधा सम्पन्न नयाँ भवन

साझाकुरा
२०७९ श्रावण १८, बुधबार १२:२७

हेटौंडा, १७ साउन÷ मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको नयाँ भवन तयार भएको छ । भौतिक पूर्वाधारको अभावले सेवाग्राहीलाई सहजै सेवा दिन नसकेको अस्पतालले बताउँदै आएको थियो । भौतिक पूर्वाधारको अभावमा अस्पतालले गुणस्तरीय सेवा दिन नसक्दा सेवाग्राहीले सेवा लिन घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता झेल्दै आएका छन् ।तर, अब अस्पतालमा नयाँ भवन बनेसँगै उक्त समस्या समाधान हुने अस्पताल प्रशासनले जनाएको छ । करिब ३ वर्षको अवधिमा डी.एस. कन्स्ट्रक्सन कम्पनीले सुविधा सम्पन्न नयाँ भवन बनाएको हो । ३० करोडको लागतमा तयार भएको हेटौंडा अस्पताल ७० वेडसहित तीन तले भवन निर्माण भएको छ ।

नयाँ भवनको वेड जडान गर्ने, सिटिस्क्यान जडान र सफ्टेवयर इन्टरनेट जडानको कार्य भइरहेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनले ईमर्जेन्सी कक्ष अहिले आवश्यकता भएको हुनाले चाँडै सञ्चालन गर्ने तयारी रहेको बताए । नयाँ भवन अब १० देखि १५ दिनसम्ममा सञ्चालनमा ल्याउने उनले जानकारी दिए । ०७६ भदौ ७ गते निर्माण सुरु गरेको भवन तीन वर्षमा सम्पन्न भएको हो । हेटौंडा अस्पतालको क्षेत्रफल ४ बिघा रहेको छ । हेटौडा अस्पताल २०१६ सालमा १५ बेडबाट सुरु भएर जिल्ला अस्पतालको रुपमा ०२२ सालमा स्थापना भएको थियो । विकासको क्रममा हेटौंडा अस्पताल विकास सेवा समितिको रुपमा गठन भई सो विकास सेवा समिति अस्पतालको विकास गर्नमा सहयोग क्रममा विकास सेवा समितिबाट २५ शैया थप गरी नेपाल सरकारको २५ शैया र विकास समितिको २५ शैया गरी जम्मा ५० शैया सञ्चालन भएर सेवा प्रदान गर्दै आएको थियो ।

आव २०६१÷६२ सालमा मन्त्री परिषद्को निणर्यानुसार उपक्षेत्रीय अस्पतालको नाममा नामाकरण गरिए पनि उपक्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण मिति २०७१ असार २० गतेको मन्त्रिपरिषद्को निणर्यले ५० शैया कायम गरी सोहीअनुसार दरबन्दी स्थापना भै पदपूर्ति भइरहेको थियो ।नेपाल सरकारको ५० शैया सञ्चालनमा आएको र विकास समितिको ५० शैया कायमै अन्य शैया १० रहेकोले यस अस्पतालमा १ सय १० शैया प्रयोग भइरहेको छ । अस्पतालमा अहिले करिब २ सय जना स्वास्थ्यकर्मीहरु कार्यरत् छन । अहिले हेटौंडा अस्पतालको सेवाहरु विस्तार हुनुको साथै बिरामीहरुको मन जित्न सफल हुँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*