मेयर र सिडिओसँग व्यवसायीको मागः १२ बजेसम्म होटल खोल्न पाउनुप¥यो

साझाकुरा
२०७९ श्रावण १९, बिहीबार ११:४१

हेटौंडा- मकवानपुरका होटल व्यवसायीहरुले हेटौंडा उपमहानगरकी मेयर मिनाकुमारी लामादेखि प्रमुख जिल्ला अधिकारी (सिडिओ)समक्ष राति १२ बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् ।होटल सञ्चालक व्यवसायीहरुले हेटौंडामा पर्यटक ल्याउन रातको १२ बेजसम्म होटलहरुलाई सञ्चालनको अनुमति दिनुपेर्न माग राखेका हुन् । बुधवार साँझ हेटौंडामा मकवानपुर होटल एसोसिएसनको आयोजनामा भएको होटल तथा पर्यटन व्यवसाय विकासका लागि अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले प्रहरीले दुःख दिएकोसमेत गुनासो राखेका छन् । हाल हेटौंडामा राति १० बजेसम्म होटल सञ्चालनका लागि अनुमति दिइएको छ । नगरमा पर्यटकलाई आकर्षण गर्न रात्रिकालिन सेवा प्रदान गर्न आवश्यक रहेको भन्दै १२ बजेसम्म सेवा सञ्चालनको अनुमति माग गरेका हुन् ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै होटल एसोसिएसनका संस्थापक अध्यक्ष भगिरथ शर्माले राति १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन आग्रह गरेका हुन् । ‘बेलुका चाँडै होटल बन्द गर्नुपर्दा पर्यटकहरु आउन छोडे । आएका पर्यटकहरु पनि बेलुकासम्म बस्न नपाउँदा हेटौंडा आउनै छोडेका छन् । पर्यटकहरुलाई आकर्षण गर्नपनि १२ बजेसम्म अनुमति दिनुप¥यो ।,’ शर्माले भने । नेपाल पर्यटक बोर्डले पनि केही दिनअघि मेयर लामासहित होटल व्यवसायीहरुलाई राखेर हेटौंडालाई पर्यटकीय सहरका रुपमा विकास गर्न रात्रिकालिन सेवा प्रदान गर्नु अपरिहार्य रहेको सुझाव दिएको थियो ।

बोर्डको सुझावअनुसार होटल व्यवसायीहरु १२ बजेसम्म सेवा सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै सम्बन्धित निकायको ढोका ढक्ढक्याउन थालेका छन् । एसोसिएसनका संस्थापक अध्यक्ष शर्माले बजार क्षेत्रमा धेरै सीसीक्यामेरा जडानका लागि मेयर लामासँग आग्रह गरेका छन् । उनले होटल व्यवसायीहरुको सहकार्यमा हरेक हप्ता नगर आसपासका करिब १०–१५ वटा पर्यटकीय क्षेत्रमा पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर पर्यटकहरुमा आकर्षित गर्न सकिनेतर्फ जोड दिए । यसो गर्दा पर्यटकीय क्षेत्रको उत्थान हुनेमा शर्माको विश्वास छ । एसोसिएसनका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठले नगरभित्रका पर्यटकीय क्षेत्रको भिडियो डकुमेन्ट्री बनाएर प्रचारप्रसारमा ध्यान दिन माग गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले हेटौंडालाई बजार हैन, सहर बनाउन लागिपरेको बताइन् । हेटौंडालाई फुलैफुलको सहर बनाउन २०७४ सालबाटै सुरु गरिएको उनको भनाई थियो । ‘प्रदेश राजधानी भएपछि हेटौंडालाई बजारमा मात्रै सीमित नबनाई सहर बनाउन काम गरिरहेका हौं । पहिला हामीले हेटौंडालाई बजार भन्थ्यौं । अब बजार हैन, सहरका रुपमा विकास गर्नुपर्छ ।,’ लामाको भनाई थियो । उनले होटल व्यवसायीहरुले व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिइन् । विगतमा भन्दा हाल हेटौंडामा धेरै पाहुनाहरु आउने गरेकाले होटल व्यवसायीहरुले राजधानीकै हैसियत अनुसारको सेवा प्रदान गर्नुपर्नेमा उनको जोड थियो । उनले सेवा प्रदानमा होटलहरुले परिवर्तन नगरेको बताइन् ।

पर्यटकहरुलाई हेटौंडामै बास बसाउन होटलहरुको सेवासुविधामा निर्भर हुने लामाको भनाई छ । ‘पर्यटकहरुलाई यहाँ राख्न र पुनः फर्किएर आउने वातावरण बनाउन चुनौती छ । निश्चित समय मिलाएर सांस्कृतिक कार्यक्रमहरु गर्नुपर्छ । सांस्कृति कार्यक्रमहरुले आन्गतुक पाहुनाहरुलाई हेटौंडामै बास बसाउने योजना ल्याउनु पर्छ ।,’ उनले भनिन् । लामाले होटल व्यवसायीहरुलाई बलियो बनाउन उपमहागरले काम गरिरहेको विश्वास दिलाएकी छन् । हेटौंडा चिनाउने भिडियो बनाएर प्रचार गर्नुपर्नेमा उनको जोडथियो । मकवानपुरका सिडिओ राजेन्द्र देव पाण्डेले मुलुकको विकासमा होटल व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । होटल व्यवसायले राज्यलाई कर तिर्दै सहयोग गर्नेदेखि रोजगारीको सिर्जना र कृषि क्षेत्रको विकासमासमेत टेवा पु¥याएको उनको भनाई थियो । उनले पर्यटकहरुलाई हेटौंडामा बस्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

उनले पर्यटकलाई आकर्षित गर्न रात्रिकालिन सेवाका लागि होटल व्यवसायीहरुलाई आवश्यकता अनुसार अनुमति दिन सकिने बताएका छन् । होटलहरुले उपयुक्त योजना बनाएर प्रस्तुत भएमा राति १२ बजेसम्म र आवश्यक परेमा रातभर सञ्चालनको अनुमति दिन समस्या नभएको उनको भनाइ थियो । उनले समाजमा असर पर्ने गतिविधि हुनुनहुनेतर्फ व्यवसायीहरुलाई सचेत गराए ।सिडिओ पाण्डेले होटल व्यवसायीहरुलाई सुरक्षा निकायले दुःख दिने काम नगर्ने प्रतिबद्धता जनाएका छन् । सुरक्षा निकायबाट दुःख दिने नियतले गतिविधि भए खबर गर्न पाण्डेको आग्रह छ । यसैगरी, हेटौंडाका उपप्रमुख राजेश बानियाँले संघीय सरकारले पर्यटन वर्ष मनाए जस्तै हेटौंडामा पनि स्थानीय पर्यटन वर्ष मनाउनु पर्ने धारणा राखेका छन् । होटल व्यवसायीहरुको साथमा स्थानीय सरकार रहेको भन्दै बानियाँले हेटौंडामा पर्यटकलाई आकर्षित गर्न उपमहानगरले पर्यटन समिति बनाएर काम सुरुवात गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले विकास र सुरक्षालाई सँगसँगै लैजानु पर्ने बताए । प्रहरीले शान्तिसुरक्षा कायम गराउनेदेखि अपराध नियन्त्रणको काम प्रमुखताका साथ गर्ने भन्दै होटल व्यवसायमासमेत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले होटल सञ्चालकहरुलाई पाहुनाको परिचय खुल्ने गरी सेवा प्रवाह गर्न, सुरक्षाका लागि सिसिटिभि राख्न आग्रह गरेका छन् ।प्रहरी र होटल व्यवसायीबीच द्वन्द्व देखिएपनि वास्तवमै द्वन्द्व भने नभएको उनको तर्क छ । हेटौंडा–२ का वडा अध्यक्ष, होटल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा नगर पर्यटन समितिका संयोजकसमेत रहेका विष्णुगोपाल महर्जनले हेटौंडामा पर्यटक नआउने र बाटो परेर बस्ने परम्परालाई तोड्नु पर्ने बताए ।

पर्यटकलाई आकर्षित गर्न र पर्यटनलाई अगाडि बढाउन नगरमा पर्यटन समिति बनेको उनले जानकारी गराए । हेटौंडालाई पर्यटनको हब बनाईने उनको भनाई छ । त्यसका लागि नगरका १९ वटै वडामा सम्भावित पर्यटकी क्षेत्रको डीपीआर बनाएर काम गर्ने उनले बताए ।भारतीय पर्यटकलाई आकषिर्त बनाउन धार्मिक पर्यटनको विकास गर्नुपर्ने उनले सुझाव दिएका छन् । एसोसिएसनले कार्यक्रमका अबसरमा मेयर लामा, उपमेयर बानियाँ, केही समयअघि मकवानपुर सुरुवा भएर आएका सिडिओ पाण्डे, प्रहरी प्रमुख गौतमलाई स्वागतसँगै सम्मान गरेको छ ।होटल एसोसिएसनका अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा सशस्त्र प्रहरीका एसपी नेत्रबहादुर कार्कीलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*