हेटौंडा सिमेन्टको उत्पादन रोकियो, कर्मचारीले दिए अल्टिमेटम
हेटौंडा-सरकारी स्वामित्वको हेटौंटा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । कच्चा पदार्थ अभाव र ढुंगा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन रोकिएको हो ।विगत चार वर्षदेखि घाटामा चल्दै आएको हेटौंडा सिमेन्ट उद्योग विगत २० दिनदेखि बन्द रहँदै आएको जनाइएको छ । उद्योगले कोइला आयात गर्न नसक्दा उत्पादन बन्द गर्नु परेको हो । उद्योगका महाप्रबन्धक बसन्त पाण्डेले कच्चा पदार्थ अभाव भएको र मेसिन मर्मत भइरहेकाले उद्योगको उत्पादन हुन नसकेको बताए । उनका अनुसार उद्योग पटक–पटक बन्द भइरहेको छ ।४० वर्ष पुरानो टेक्नोलोजी र पुराना मेसिनरीका कारण मेसिनहरु बिग्रिरहने समस्याले उद्योगको नियमित उत्पादन हुन नसकेको पाण्डेले बताए । पाण्डे ३ महिनाअघि मात्रै उद्योगको महाप्रबन्धकका रुपमा आएका थिए । उनले आफू आएदेखि नै उद्योग पटक–पटक बन्द भइरहेको बताए ।
हेटौंडा सिमेन्टलाई समेन्ट उत्पादन गर्ने देशभरका उद्योगमध्ये सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ । गुडबिलले मात्रै टिकेको हेटौंडा सिमेन्ट बन्द हुने अवस्थामा पुगिसकेको छ । उद्योग निरन्तर चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको उनी बताउँछन् । ‘सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेको रहेछ ।पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकै कारण समस्या आइरहेको छ । उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन’, पाण्डेले साझाकुरासँग भने, ‘एउटा बनाएर चलायो अर्को बिग्रिहाल्छ, कति बनाउनु जति बनाएपनि नियमित चल्न सकेन । नयाँ उपकरण ल्याएर उत्पादन थाल्नुपर्ने भएकाले सरकारसँग पहल गरिरहेको छु’, पाण्डेले भने ।
उनका अनुसार उद्योगमा पर्याप्त जनशक्ति नभएका कारण पनि उत्पादनमा समस्या भएको पाण्डेले बताए । उद्योगमा ६ सय ५५ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल २ सय २२ जनाले मात्रै काम गरिरहेको उनले जानकारी दिए । उद्योग निरन्तर घाटामा पनि छ । एकातर्फ उत्पादनमा गिरावट आइरहनु, उत्पादित सिमेन्ट पनि बिक्री हुन नसक्नु समस्याले थलिएको उद्योग निरन्तर घाटाले धराशयी बनाएको हो । उद्योगले विगत चार वर्षमा करिब ८० करोड घाटा व्यहोरेको छ । घाटासँगै उद्योग करिब २० करोड ऋणमा पनि डुबेको छ । उत्पादन क्षमता र बिक्री घट्दा हेटौंडा सिमेन्ट उद्योग वार्षिक घाटामा सञ्चालन भइरहेको हो । गत आव २०७८÷०७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड घाटा व्यहोर्नु परेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । गत आवमा एक अर्ब २२ करोड आम्दानी गरेको उद्योगले एक अर्ब ३९ करोड खर्च गरेको छ । उद्योगले आव २०७४÷०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो । त्यसयता उद्योग निरन्तर घाटामा छ । आव २०७५÷०७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६÷०७७ मा २३ करोड ८२ लाख, आव ०७७÷०७८ मा थप १७ करोड चार लाख नोक्सान व्यहोर्नु परेको उद्योगले जनाएको छ ।
उद्योगमा गत आव ०७८÷०७९ मै उत्पादन भएको करिब ३ लाख बोरा सिमेन्ट बिक्री नभएर थन्किएको छ । जसका कारण उद्योगलाई दुई अर्ब बढी रकम घाटा लागेको छ । उद्योगले गत आव ०७८÷०७९ मा १६ लाख बोरा सिमेन्ट बिक्री गरेकोमा बाँकी ३ लाख बिक्री गर्न नसकेको महाप्रबन्धक पाण्डेले बताए । उनले निजी उद्योगहरुले प्रतिबोरा सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको बताए । उद्योगले हाल प्रतिबोरा सिमेन्ट ७ सय ४६ रुपैयाँ ९३ पैसामा बिक्री गर्दै आइरहेको छ । तर, उद्योगलाई एक बोरा सिमेन्ट उत्पादन गर्न करिब ९ सय रुपैयाँ लागत पर्दै आएको पाण्डेले जानकारी दिए । ‘घाटा खाएर बिक्री गर्दै आएका छौं । हाम्रो लागत नै बिक्री भन्दा प्रतिबोरामा डेढ सय बढी छ । निजी उद्योगहरुले बोरामा मूल्य घटाएर बजारमा सिमेन्ट पठाए । त्यसपछि हाम्रो उत्पादन बिक्री नै भएन’, उनले भने ।
कर्मचारीले दिए २१ दिने अल्टिमेटम
निरन्तर घाटाले धराशयी अवस्थामा पुगेको हेटौंडा सिमेन्टमा कर्मचारीहरुले सेवासुविधाको विषयमा उद्योगलाई अल्टिमेटम दिएका छन् ।अखिल नेपाल औद्योगिक मजदुर संघ इकाई समिति र समग्र उद्योग टे«ड युनियन नेपाल, सिमेन्ट उद्योग कार्यसमितिले महाप्रबन्धक पाण्डेलाई श्रम ऐन २०७४ बमोमिज कार्य गर्न अल्टिमेटम दिएको हो ।
दुबै समितिले उद्योग बन्द भएको र घाटामा रहेकोप्रति चिन्ता व्यक्त गरेपनि समग्रमा कर्मचारीहरुको सेवासुविधामा जोड दिएर महाप्रबन्धकलाई अल्टिमेटम दिएका छन् । उनीहरुले उद्योगको विगतदेखिका उद्योग व्यवस्थापन पक्षले उद्योगको समग्र सुधार र उत्पादन बृद्धिलगायतका पक्षमा आवश्यक ध्यान नदिँदा हालसम्म उद्योग करिब ८० करोड घाटामा रहेको आरोप लगाएका छन् ।
कर्मचारीहरुले ११ वटा बुँदामा माग राखेर अल्टिमेटम दिएका हुन् । हाल कोइलालगायत आवश्यक कच्चा पदार्थ अभावकै कारण बन्द उद्योग यथाशीघ्र चालु गर्न माग
गरेका छन् । आगामी दिनमा कच्चा पदार्थ, स्पेयर पार्टस् तथा कर्मचारी जनशक्तिको अभावमा उद्योगको कुनैपनि शाखा÷विभागबाट हुने कार्य बन्द नहुने लिखित प्रतिबद्धता व्यक्त गर्न माग गरिएको छ ।उद्योगका ४ वटै खानीहरु कुनैपनि अबरोधबिना सञ्चालन गरी नियमितरुपमा चुनढुंगा आपूर्ति हुने प्रबन्ध मिलाउन उनीहरुले आग्रह गरेका छन् । उद्योग व्यवस्थापनले उद्योग संचालनको लागि अतिरिक्त समयमा काम गर्न खटाउने यद्यपि २०७८ भदौ १६ गतेदेखि हालसम्म अतिरिक्त समयमा काम गरेको रकमसमेत भुक्तानी नदिएको भन्दै छिटो रकम भुक्तानी गर्न माग गरेका छन् ।
उद्योगमा नियमित अवकाश र स्वैच्छिक राजीनामाको कारणले कर्मचारी संख्या २ सय २१ मा सीमित भई उद्योगको उत्पादन र आन्तरिक कामकाजमा प्रत्यक्ष असर पर्दै गएको अवस्थामा पनि प्रशासनले कुनै चासो नलिएको जनाउँदै अब लोक सेवा आयोगको वार्षिक कार्यतालिकाभित्र पदपूर्ति कार्य अनिवार्य हुने गरी कर्मचारी पदपूर्ति प्रक्रिया तुरुन्त अगाडि बढाउन माग गरिएको छ । उद्योगको संशोधित आर्थिक प्रशासन नियमावलीमा कर्मचारीहरुले घर पेश्की वापत १० लाख रकम लिँदा वार्षिक ५ प्रतिशत ब्याजदर लाग्ने गरी व्यवस्था गरिएको कुरा बुझिन आएकाले ब्याजदरको व्यवस्था हटाउन माग गरिएको छ ।
वर्तमान आर्थिक प्रशासन नियमावली परिमार्जन गरी खाइपाई आएको सुविधामा असर नपर्ने गरी व्यवस्था मिलाउन भनिएको छ । कर्मचारी बिरामी भएर उपचारको क्रममा आफूले पाउने औषधि उपचार खर्च वापतको रकम बाट कट्टी हुने गरी उद्योगले पेश्की दिने पूर्ववत् व्यवस्था अबलम्वन गर्न माग गरिएको छ ।







