निःशुल्क पानी खुवाउन उपमहानगर र बोर्डबीच सम्झौता
हेटौंडा, २२ साउन÷ निर्वाचनमा नगरबासीसँग गरेको वाचा पूरा गर्न मिनाकुमारी लामाले सोमबार निःशुल्क खानेपानी वितरणका लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेकी छन् ।नगरवासीलाई निःशुल्क खानेपानी उपलब्ध गराउन सोमबार हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच सम्झौता भएको हो ।
१६ साउनमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रहि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटर सम्म निःशुल्क खानेपानी खुवाउने निर्णय कार्यान्वयनमा गएको छ । आइतबार भएको सम्झौता अनुसार बोर्डमार्फत बितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायिक विद्यालय र क्याम्पसले खानेपानी प्रयोग बापत शुल्क तिर्न नपर्ने भएको छ ।
उपमहानगरपालिकाभित्र रहेका करिब ४० सामुदायीक बिद्यालय र २ वटा सामुदायीक क्याक्पस रहेको तथ्याङक बोर्डले दिएको छ । सत्तारुढ गठबन्धनले स्थानिय तह निर्वाचनको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो ।गठबन्धनबाट निर्वाचित भएको तीन महिनाभित्रै उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले चुनावी घोषणा पत्र अनुसारको प्रतिबद्धा पूरा गरेका हुन् । बोर्डसँग भएको सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरीरहेका केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपियाँ उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई तिर्ने सहमति भएको हो ।
सहमति अनुसार खानेपानिको बिलिङ भएको महिनाको १० गते भित्र महशुल रकम बुझाउनु पर्ने उल्लेख छ । सहमति पत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाई, प्रशाशन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । उपमहानगरको निःशुल्क खानेपानी दिने निर्णय २३ हजार ५ सय धारामा लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने जनाइएको छ ।
निःशुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिव २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
नगरक्षेत्रमा रहेका उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिएको हकमा उपमहानगरको निर्णय कार्यान्वयन नुहने बताइएको छ । उपमहानगरको प्रमुखको पदस्थापनको समय नगर प्रमुख लामाले नगरभित्र रहेका १५ सय ११ अतिविपन्न परिवारलाई निःशुल्क खानेपानी, विद्युत र स्वास्थ्य वीमा गर्ने निर्णय गरेकी थिइन् ।
उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा यस विषय समेटिएको छ । मेयर लामाले पदभार ग्रहण गरेसँगै निर्वाचनमा आफू गरेका वाचा छिटो पूरा गर्न दौडधुप गरेर काम गरेकी छन् । उनले महिलाहरुका लागि विशेष उपचारका निम्ति हेटौंडामै सुविधासम्पन्न प्रसुति अस्पताल निर्माणको चरणम छिन् । उनले अस्पतालका लागि जग्गा छनौटको लागि पहल गरिरहेकी छन् । साथै, हेटौंडा–१० बसर्पाकस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी बिग्रिएर समस्या भइरहेको थाहा पाउने बित्तिक्कै लामाले करिब ढेड घण्टाभित्र रिंग हालेर समस्या समाधान गरेकी थिइन् । त्यही शौचालयको समस्या वर्षौदेखि थियो । तर, लामाले थाहा पाउने बित्तिकै समाधान निकालेकी हुन् ।







