अवैध औषधि पसल बन्द, होटललाई २० हजारसम्म जरिवाना

हेटौंडामा एकै पटक पाँच टोलीबाट अनुगमन
साझाकुरा
२०७९ श्रावण २६, बिहीबार ०८:५१

हेटौंडा- हेटौंडा उपमहानगरपालिका कार्यालयको पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाका पाँच सेवा क्षेत्रमा एकसाथ अनुगमन गरेको छ । प्रशासनले पाँच वटा टोली बनाएर पाँच क्षेत्रबाट एकैपटक अनुगमन गरेको हो । हेटौंडाको स्वास्थ्य क्षेत्र, होटल, माछामासु र दुग्ध डेरी पसल, हार्डवयेर र जेन्सी तथा किराना र सुपरमार्केटहरुमा एकै पटक अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत कार्यालयले हेटौंडा उपमहानगर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहित बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्ने किराना पसलदेखि होटलसम्म कारबाहीमा परेका छन् । हेटौंडामा अवैधरुपमा औषधि पसलहरु सञ्चालनमा आएकाले बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहे्रले जानकारी दिए । अनुगमन टोलीले हेटौंटाको होटल, स्वीट्स एवम् फाष्टफुड पसल ११ वटा, अस्पताल तथा स्वास्थ्य संस्था ६ वटा, सुपरमार्केट तथा गोदाम घर २ वटा, हार्डवयेर पसल १० वटा, फेन्सी पसल ९ वटा अनुगमन गरेको सहायक प्रजिअ गैह्रले जानकारी दिए । यसैगरी मोबाइल पसल १ वटा, मासुपसल ६ वटा, डेरी पसल १ वटा, भेटेरिनरी औषधि पसल ३ वटा, चल्ला तथा दाना पसल ५ वटा अनुगमन गरिएको थियो ।
अनुगमन गर्दा अखाद्य वस्तु बिक्री वितरण गरेको भन्दै दुई होटललाई २० हजार रुपियाँ जरिवाना गरिएको छ । राजधानी स्वीट्स र आँगन स्वीट्स एवम् फाष्टफुड पसललाई अनुगमन टोलीले तत्काल जरिवाना तिराएको हो ।

उनीहरुको भान्सामा धेरै फोहोर भेटिएको र अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि जरिवाना गराइएको सहायक प्रजिअ गैह्रेले बताए । अनुगमन टोलीले एउटा पोलिक्लिनिक, एउटा भेटेरिनरी औषधि पसल र एउटा डेन्टल बन्द गरेको छ । अनुमितबीना सञ्चालन भएको पाइएपछि नेशनल पोलिक्लिनिक, अल्फा डेन्टल र एक भेटेरिनरी औषधि पसल बन्द गरेको हो । अल्फा डेन्टललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । ईटीसी जनरल सप्लायर्सलाई प्रशासनले १५ हजार रुपैयाँ जरिवाना लगाइको छ । यसैगरी यू एण्ड अई सु–सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना तिराएको प्रशासनले जानकारी दिएको छ । अनुगमनका क्रममा हेटौंडामा मानव स्वास्थ्य प्रतिकूल हुने गरी होटलहरुले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको पाइएको हो । अधिकांश पसललाई बिल बिजक जारी नभएको कारण कारबाही गरिएको जनाइएको छ ।
२ वटा अस्पतालले अनुमतिभन्दा बढी क्षमताको बेड सञ्चालन गरेको पाइएकोले स्वीकृत भन्दा बढी क्षमताको अनुमति लिन निर्देशन दिएको उनले जानकारी दिए । होटल व्यवसायमा सरसफाई नभएको, अखाद्य तेल तथा अन्य वस्तुको प्रयोग, अस्वस्थ खानेपानीको प्रयोग जस्ता समस्या रहेकोले तत्काल सुधार गर्न सचेत गराइएको उनको भनाइ छ । दर्ता तथा अनुमति नलिएका व्यवसायलाई १ हप्ताभित्र दर्ता तथा अनुमतिको प्रक्रिया पूरा गर्न निर्देशन दिइएको उनले बताए । अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नियन्त्रणमा लिई नष्ट गरिएको छ । भाटभटेनी सुपरमार्केट, चौकीटोलबाट परीक्षणका लागि २ वटा खाने तेलको नमूना लिइएको जनाइएको छ । शिवशक्ति सप्लायर्स, हेटौडाको १ सय १२ बोरा चामल अर्को आदेश नभएसम्मका लागि बिक्री वितरणमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले नगर क्षेत्रको व्यापारलाई व्यवस्थित गर्न अनुगमन गरिएको बताए । उनले उपभोक्ताहरुको स्वास्थ्य र सामाजिक सुरक्षालाई ध्यानमा राखेर अनुगमनलाई निरन्तरता दिइने बताए । कानुनले तेकेका मापदण्ड पु¥याएर व्यवसाय सञ्चालन गर्न न्यौपानेले आग्रह गरेका छन् । बजारमा उपभोक्ताहरुलाई असर पर्ने गतिविधि भइरहेको गुनासो आएकोले कानुनी कारबाहीको दायरामा सबैलाई ल्याउने उनले बताए । उपमहानगरपालिकाले बजारलाई सुरक्षित, सन्तुलित र संवेदनशील बनाउन अनुगमनलगायत नियमित निगरानी गरिरहने प्रवक्ता न्यौपानेले बताए ।

बुधबार सबै क्षेत्रको एकै पटक अनुगमन गरिए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले यसअघि पनि अनुगमन जारी राखेको थियो । हेटौंडा उपमहानगरपालिका–८ स्थित विभिन्न खाद्य व्यवसाय फर्महरुमा उपभोग्य अवधि समाप्त भएका खाद्य पदार्थहरु अनुगमनको क्रममा भेटिएको थियो । कार्यालयले साउन २२–२३ मा हेटौंडा–८ को कमानेस्थित विभिन्न खाद्य व्यवसायहरुमा अनुगमन गर्दा उपभोग्य अवधि समाप्त भएका खाद्य पदार्थ भेटिएको हो ।
कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–८ को कमानेस्थित दुर्गा खाद्य भण्डार, दुलाल किराना पसल, रिद्धि स्टोर र थापा स्टोरबाट उपभोग्य अवधि समाप्त भएका खाद्य पदार्थहरु जफत गरिएको र हेटौंडा–१० स्थित फोहोर व्यवस्थापन क्षेत्रमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*