जिससको बजेट ११ करोड ४६ लाख
हेटौंडा- जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले चालू आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट प्रस्तुत गरेको छ । समितिको बुधवार भएको आठौं जिल्लासभामा उपप्रमुख सानुकाजी लुइँटेलले चालू आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । उनले सभामा ११ करोड ४६ लाख ५ हजार ४ सय ७९ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । जिल्लासभाबाट जिससले हालसम्म गरेका काम कारवाही तथा चालू आवको नीति कार्यक्रमसम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७९÷०८० को आयव्ययको अनुमानसम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७८÷०७९ को संसोधित व्यय विवरण, विनियोजित तथा प्रगति समिक्षा, बेरुजु तथा सम्परीक्षणसम्बन्धी प्रतिवेदन र अधिकार प्रत्यायोजन प्रस्ताव पारित गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा जिसस प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा सभा भएको हो । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले दुई महिनाभित्र हेटौंडा अस्पतालमा किड्नी ट्रान्सप्लान्ट स्थापना हुने बताए । मुख्यमन्त्री पाण्डेले प्रदेशका १३ वटै जिल्ला अस्पतालबाट डायलाइसिस सेवा सुरु हुने बताए । रासायनिक मल र कृषि औजारको कारखाना स्थापना गर्न सरकार अगाडि बढेको उनले दाबी गरे । हेटौंडाका सडक साँघुरो भएको भन्दै बिस्तार गर्नुपर्ने आवश्यकता पाण्डेले औंल्याए ।
सभामा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, निवर्तमान जिसस प्रमुख रघुनाथ खुलाल, निवर्तमान उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतको उपस्थिति थियो । जिल्लासभामा जिल्लास्थित स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति न्यून थियो । बुधबार ११ बजे बोलाइएको सभामा स्थानीय तहका प्रमुख र उपप्रमुख समयमै नआएपछि सभा एक घण्टापछि सुरु भएको थियो । उद्घाटन सत्रमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति पनि न्यून थियो ।
मकवानपुरका १० स्थानीय तहमध्ये विकट राक्सिराङ गाउँपालिका प्रथम भएको छ । जिसस मकवानपुरले गाउँसभाबाट राक्सिराङलाई आन्तरिक मूल्याड्ढनका आधारमा प्रथम घोषणा गरेको हो ।
जिससले हरेक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, द्वितीय र तृतीय घोषणा गर्दै आएको छ । उत्तरीक्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका दोस्रो र पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका तेस्रो हुन सफल भएको जिसस प्रमुख घलानले जानकारी दिए । तीन उत्कृष्ट गाउँपालिकाहरुलाई समितिले प्रमाणपत्र प्रदान गरेर
पुरस्कृत गरेको छ ।







