महेन्द्र माविको २१ कोठे भवन उद्घाटन
हेटौंडा- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलले हेटौंडा–१३ स्थित, महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भएको २१ कोठे भवनको बुधबार मन्त्री पौडेल, बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान र हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जाइकाको ६ करोड रुपैयाँ लागतमा विद्यालयले नयाँ भवन पाएको हो । भवनमा सुविधा सम्पन्न कक्षा कोठासहित विज्ञान प्रयोगशाला, पुस्तकालय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काले जानकारी दिए । विद्यालयमा २०७२ सालको भूकम्पले पूर्ण क्षति पु¥याएपछि जाइकाले भवन निर्माण गरिदिएको हो ।
महेन्द्र मावि त्यस क्षेत्रको सबैभन्दा ठूलो विद्यालय हो । यहाँ ८ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा–११ र १२ मा वाणिज्य, मानविकी र शिक्षा संकायमा अध्यापन हुँदै आएको शिक्षिकका सविता लामिछानेले प्रगति विवरण सुनाइन् । विद्यालयले पुस्तकालय, विज्ञापन प्रयोगशालालाई व्यवस्थितसँग सञ्चालन गर्न अझै भवनको अभाव रहेको बताउँदै खेल मैदान, सोलार, विद्यालयलाई कम्पाउण्ड वालले घेर्न, सभा भवन, छात्रावासको व्यवस्थाका लागि थप आवश्यकता रहेको मन्त्री पौडेल समक्ष राखिएको छ । महेन्द्र माविलाई नमूना विद्यालयका रुपमा छनौट गर्न मन्त्रीलाई प्रस्ताव गरिएको छ ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले महेन्द्र माविलाई नमुना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गरे । विद्यालयलाई शैक्षिक विकाससँग गुणस्तरमा ध्यान दिन उनले निर्देशन दिए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षालाई समाहित गराएर प्रविधिसँग जोड्नु पर्ने उनको भनाइ छ । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन मन्त्री पौडेलले निर्देशन दिएका छन् ।







