हेटौंडाबाट ट्रक चालक कमिटीले भन्यो, ‘कुनैपनि शुल्क नतिर्नू’
हेटौंडा- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ट्रक चालक कमिटी आन्दोलनमा उत्रिएको छ । कमिटीले हेटौंडाबाट बुधवार देशभरका ट्रक चालकहरुलाईलाई कुनैपनि शुल्क नतिर्न आग्रह गरेको छ । सामान लोडअनलोड गर्दा व्यसायीहरुले बीना रसिद ढाला खर्च, चलानी खर्च, गद्दी खर्च, मुन्सी खर्च लिने गरेको भन्दै विरोध जनाएका छन् । विभिन्न नाममा पैसा काट्ने गरेको भन्दै देशभरका ट्रक चालकहरुले कुनैपनि नाममा शुल्क नर्तिन आग्रह गरेको हो । सामान ढुवानी गर्दा लाग्ने भाडाको टिडिएस काट्दा बिल नपाइएको कमिटीले जनाएको छ । कमिटीका मकवानपुर अध्यक्ष नवराज कार्कीले व्यवसायी, स्वारोजगार श्रमिक तथा श्रमिकहरुमाथि आर्थिक शोषण हुँदै आइरहेको भन्दै यसलाई तत्काल रोक्न सरकारसँग अपिल गरेका छन् ।
‘ट्रकमा सामान ढुवानी गर्दा लाग्ने ढुवानी शूल्कबाट २ दशमलव ५ प्रतिशत टिडिएस बापत कर भनेर लिने गरिएको भएपनि रकम बुझाए बापत भुक्तानी रसिदसमेत नदिँदा अनियमितता हुने गरेको छ ।,’ कार्कीले भने । अध्यक्ष कार्कीले स्वरोजगार व्यवसायी, चालक, सहचालहहरुलाई विभिन्न कल कारखाना तथा उद्योगहरुमा अनावश्यक काम लगाउने, तुच्छ व्यवहार हुने गरेको भन्दै यस्ता कार्य बन्द गर्न अनुरोध गरे ।
यात्राका क्रममा ट्राफिक प्रहरी तथा प्रशासनबाट मालबाहक ट्रक चालक तथा सहचालकहरुसँग रकम असुल गर्ने, डर, धम्कि दिने, कुटपिट गर्ने काम भएको चालकहरुले आरोप लगाएका छन् ।उनीहरुले चालक, सहचालक तथा कम्पनीहरुमा काम गर्ने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्न अनुरोध गरेका छन् ।







