सामाजिक विसंगति र विकृतिविरुद्व सरोकारवालाबीच अन्तरक्रिया
हेटौंडा- सामाजिक विसंगती र विकृतीविरुद्व हेटौंडामा सरोकारवालाहरुबीचमा अन्तरक्रिया भएको छ ।सामुदायिक प्रहरी सेवा उपकेन्द्रको आयोजना तथा जिल्ला खेलकुल विकास समितीको समन्वयनमा शुक्रबार हेटौंडामा सरोकारवालाहरुले सामाजिक विसंगति र विकृतिविरुद्व छलफल गरेका हुन् । युवा, विद्यार्थी, खेलाडी, सामाजिक अभियान्ता, प्रहरी लगायतको उपस्थितिमा भएको कार्यक्रममा लागूपदार्थ दुव्र्यसनमा समाजमा हुने घटनाहरुको विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा सहभागीहरुले समाजमा हुने अधिकांश आपराधिक घटनाहरु लागूऔषधको सेवनले गर्दा हुने गरेको भन्दै लागूऔषधमुक्त समाज बनाउनुपर्नेमा जोड दिए ।
सामुदायिक प्रहरी सेवा उपकेन्द्रका अध्यक्ष प्रदिप कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौत्तमको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी गौत्तमले मकवानपुर लागूपदार्थ सेवन र ओसारपसारले ग्रसित जिल्ला रहेको भन्दै यसलाई पूर्ण रुपमा न्युनिकरण गर्नुपर्ने बताए । उनले प्रहरी एक्लैले लागूपदार्थरहित समाज बनाउन नसक्ने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले लागूऔषध दुव्र्यसनमा पर्नुका कारण र दुव्र्यसनबाट बच्ने उपायहरुको बारेमा खेलाडीलाई जानकारी गराएका थिए । उनले लागूऔषध सेवन गर्नेहरुको देखासिकि गर्दा, आफ्नो उद्देश्यमा असफल नभई निराश हुँदा युवाहरु लागूऔषध दुव्र्यसनतर्फ अग्रसर हुने बताए ।
घरपरिवारका अग्रजहरुले लागूऔषध सेवन गरेको छ भने पनि आफ्ना बालबालिकाले लागूऔषध सेवन गर्न सक्नेतर्फ उनले सचेत गराए । यसलाई न्युनीकरण गर्न अभिभावक जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । अन्तरक्रियामा बोल्दै सामुदायिक प्रहरी सेवा उपकेन्द्रका अध्यक्ष कँडेलले समाजमा हुने विकृति र विसंगति हटाउन खेलाडीहरुको माध्यमबाट सकिने बताए । उनले खेलाडीहरु स्वस्थ, धैर्यशिल हुने भएकाले निर्णय लिनु अगाडी सोचेर सही निर्णय लिने हुनाले यसको न्युनीकरण हुने बताए ।
खेलमा खेलाडी जोडिएपछि सामाजिक विकृति र विसंगतिहरु कम हुने उनको भनाइ छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख राजन दाहाल, प्रहरी, सुधारगृहका सञ्चालकहरु, सामाजिक अभियान्ता, खेलाडी, प्रशिक्षक लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।







