अपमानजनक नाम सच्याउन राक्सिराङका वडाध्यक्षको निवेदन

साझाकुरा
२०७९ श्रावण २८, शनिबार ०८:००

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा अध्यक्ष युसाई प्रजाले अफ्नो नागरिकताको नाम सच्याउन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका छन् ।चेपाङ भाषामा आफ्नो नाम अपमानजनक भएको भन्दै ८ नम्बर वडाका वडाध्यक्ष प्रजाले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे समक्ष नाम सच्याउन निवेदन दिएका हुन् । चेपाङ भाषामा युसाईलाई जनावार मुसासँग जोडेर बुझिन्छ ।वडाध्यक्ष प्रजाले अफ्नो नाम अपमानजनक रहेको भन्दै गाउँमा अर्कै नाम बताउने गरेका छन् । उनको राजनीतिक र सामाजिक परिचय हाबिल हो । उनलाई गाउँमा सबैले हाबिल भनेर चिन्छन् । तर, उनको नागरिकतामा नाम भने युसाई थियो ।

दैलेखमा ‘कुकुर कामी’ र ‘कुकुरनी कामी’को नाममा नागरिकता दिलाएको घटनाले राष्ट्रिय बहस सुरु भएपछि उनी प्रशासन कार्यालय पुगेका थिए । युसाई प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङलाई लिएर प्रशासन पुगेका हुन् । मन्त्री चेपाङले युसाईसहित अन्य चेपाङहरुको नागरिकतामा नाम अपमानजनक रहेको भन्दै सच्याउन सिडिओ पाण्डेसँग आग्रह गरेका थिए । सीडीओ पाण्डेले नाम सच्याउन सकिने बताएपछि युसाईले निवेदन दिएका हुन् । मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ जातिको बाहुल्यता छ ।

वडाध्यक्ष युसाईले पहिला आफ्नो नाम सच्चिएर आएपछि गाउँमा अपमानजनक नाम भएका स्थानीयको खोजी गरेर प्रशासनमा नाम परिवर्तनका लागि आफूले भूमिका खेल्ने बताएका छन् । मकवानपुरका चेपाङ समुदायमा कुई (कुकुर), चाकमाया, पिलो, कामी, सार्की जस्ता थुप्रै अपमानजनक नामहरु राखेर नागरिकता बनाएको राज्यमन्त्री चेपाङले बताए । यी अपमानजनक नामहरु सच्याउन पाउनु पर्ने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले गृह मन्त्रालयले अपमानित हुने गरी राखिएका नामहरु अबदेखि नागरिकता दिँदा उल्लेख नगर्ने र यसअघि वितरण गरिएका त्यस्ता नागरिकतालाई सच्याउनका लागि परिपत्र गरिसकेकाले सोही अनुसार कार्य सुरु हुने बताए ।

पाण्डेले नाममा अपमान भएकाले सच्याउनुपर्ने कारणसहितको मुचुल्का कागज बनाएर नागरिकताको प्रतिलिपि लिने गरी वडाको सिफारिस लिएर आउन सुझाव दिएका छन् । पुस्तौंदेखि नागरिकता नभएका मकवानपुरका चेपाङ बस्तीहरुमा डेढ दशकअघि नेपाल चेपाङ संघको पहलकदमीमा नागरिकता शिविरसमेत चलाइएको थियो ।
त्यसबेला पनि केही अपमान र आपत्तिजनक नामहरुमा नागरिकता जारी भएको पाइएकाले सच्याउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने संविधानसभा सदस्य एवम् नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले बताएका छन् ।

ग्रामीण क्षेत्रमा चेपाङ समुदायमा मात्र नभई अन्य जनजाति समुदायका मानिसहरुले पाएका नागरिकतामा पनि होच्याउने शब्दहरुलाई नामको रुपमा प्रयोग गरी नागरिकता वितरण भएको पाइएको थियो । मकवानपुरमा नागरिकतामै नाम किदाङ (तामाङ भाषामा गुहुघारी) प्रजा राखिएको मन्त्री प्रजाले बताए ।विकेश चेपाङ हुनुपर्नेमा अघिल्लो अक्षर ‘बि’ हटाएर ‘चि’ राखेर नाम उल्लेख गरिएको, पिउराम चेपाङलाई बीउराम बनाइएको जस्ता घटनाहरु मकवानपुरको चेपाङ समुदायमा छ्यापछ्याप्ती रहेको उनी बताउँछन् । यसकारण अपमानजनक शब्दहरु सच्याउन पाउनु पर्नेभन्दै चेपाङले गाउँमा कुरा पु¥याउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*